झाडापखालाले एउटा १५ महिना बालकको मृत्यु

गोरखा : झाडापखालाबाट गोरखाको बारपाकमा एकजनाको मृत्यु भएको छ । सुलीकोट-२ बारपाकका १५ महिनाको बालकको मृत्यु भएको स्थानीय शिक्षक गौतम गुरुङले जानकारी दिनुभयो ।बिगत दुईसातादेखि बारपाकमा झाडापखाला फैलिएको हो । अहिलेसम्म ३५ जना भन्दा धेरैलाई झाडापखाला लागेको स्थानीय स्वास्थ्यचौकी प्रमुख अनील शाहले जानकारी दिनुभयो ।

‘झाडापखालाले एउटा १५ महिनाको बालक मरेको भन्ने थाहा पायौं' उहाँले भन्नु भयो ‘घरमै झारफुक गरेर राखे । स्वास्थ्यचौकी ल्याएनन् । हामीले त मरेपछि मात्र जानकारी पायौं ।' बिरामी दैनिक जसो बढिरहेको उहाँको भनाई थियो ।‘दुई साता भयो ३५ जना भन्दा धेरै बिरामीको उपचार गरिसकेका छौं' उहाँले भन्नु भयो-‘स्वास्थ्यकर्मी पनि छौं । औषधी पनि छ तर बर्खाको बेला भएर होला बिरामी चाहिँ बढिरहेका छन् ।' गाउँमा पानी उमालेर खानुहोला भन्ने जनचेतना जगाउने खालको पोष्टर, पम्प्लेटिङ पनि गरिरहेको उहाँले बताउनु भयो ।पानीको मुहानमा खराबी देखिएको गुरुङको भनाइ छ । ‘धाराको पानी धमिलो आउँछ । उमालेर खाने चलन पनि कम छ त्यही भएर समस्या भएको हो' उहाँले भन्नुभयो ‘गाउँमा वितरण गरेको खानेपानीको मुहानमा सुधार गर्नुपर्छ ।'जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले स्थानीयले स्वास्थ्यप्रति हेलचेक्र्याइँ गरेको बताउनु भयो । ‘हामीसँग सरकारी जनशक्ति पनि छ । गैरसरकारी जनशक्ति पनि छ । औषधी पनि छ । जनचेतना पनि जगाइरहेका छौं' उहाँ भन्नुहुन्छ ‘तर बिरामी स्वास्थ्यचौकी जाँदैनन् । घरमा स्वास्थ्यकर्मी आउनुपर्छ भन्ने सोचाइले बिगार्‍यो ।' जनचेतना जगाउन धामीझाँक्रीलाई स्वास्थ्य शिक्षा सम्बन्धी तालिमको आयोजना गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक केदार पराजुलीले बताउनु भयो ।