छोरीले नेपाली बुझ्न छाडी, कसले नेपाल फर्काइदेला ,भन्छन् काशीराम

नवलपरासीको देवचुली नगरपालिका ७ का काशीराम नेपालीलाई अब त छोरीको मुख देख्न नपाउँदै मर्छु कि जस्तो लाग्न थालेको छ ।  काशीरामलाई सन्तमायालाई विदेश पठाउने मन थिएन, छोरीको बिहे गरिदिने मन थियो काशीरामलाई । २२ वर्ष लागेकी छोरी अन्माउने रहर भएपनि छोरीले विदेश जाने रहर गरेपछि उहाँले मन बाँधेरै जहाज चढाउनुभयो ।छरछिमेकका सबैजना विदेश गएको देखेपछि छोरी सन्तमाया नेपालीले पनि विदेश जाने रहर गर्नुभयो । पढाइ नभएपनि विदेश जाँदा कमाइ हुन्छ होला भनेर काशीरामले छोरीलाई रोक्न सक्नुभएन् ।

kjhkjhkjhkjh.jpg

‘म पनि विदेश जान्छु बुवा, पढ्नसकिन विदेश जान पाए कमाउँछु भनेपछि मैले पनि जाउ भनें’ काशीरामले सुनाउनु भयो ।विदेश भनेको के हो, अनि विदेश जानेहरु कहाँ जान्छन भन्ने पनि नबुझेका काशीरामले छोरालाई विदेश पठाइदिन्छु भन्नेको विश्वास गर्नुको विकल्प थिएन् । त्यसैले चिनजानकै लिला पाण्डेले जे भने त्यही कुरा विश्वास गरेर छोरीलाई विदेश पठाउनुभयो ।विदेश पुगेपछि धेरै समयसम्म फोन आएन । छोरीले कति समयसम्म फोन गरिन् भन्ने काशीरामलाई याद छैन् । पछि छोरीको फोन त आयो तर खान बस्न दिएपनि पैसा नदिएको खबर सुन्नुपर्‍यो ।छोरीले धेरै कुरा त बुवालाई सुनाउनु भएन तर काशीरामले जति सुन्नुभयो त्यतिले नै छोरीको अवस्था ठिक रहेनछ भन्ने अड्कल काटिहाल्नुभयो । समय बित्दै जाँदा छोरीको फोन आउने क्रम पातलिन थाल्यो । त्यसैले ९ वर्षमा सन्तमायाले घरमा जम्मा ९ पटक मात्रै फोन गर्नुभएको छ ।छोरीले फोन नगरेपछि काशीरामले यतैबाट त्यही नम्बरमा फोन गर्नुभयो तर अर्कै केटी नबुझ्ने भाषामा बोलेपछि उहाँलाई झनै छट्पटी भयो । के बोलेको बुझ्नु भएन तर छोरीलाई नेपाली नै बोल्न नसक्ने बनाइ सकेछन् कि क्या हो भनेर काशीराम छक्क पनि पर्नुभयो ।फोनमा बोल्ने चाहिँ तपाईंकै छोरी हुनुहुन्थ्यो त’ केहीबेर अघिसम्म सानो स्वरमा जानकारी दिइरहेका काशीरामको बोली रोकियो । र ‘हुँक्क’ मात्रै आयो ।केहीबेरमा सम्हालिए पछि फेरि बोल्न थालेका काशीरामले कखरा चिन्ने छोरीलाई कसैले फसाएकी भन्ने लागिरहेको सुनाउनु भयो ।छोरी सम्पर्कविहिन हुनुको पीडाले बुवा काशीरामलाई मात्रै होइन आमा पार्वतीलाई छोरीको पनि त्यत्तिकै सताएको छ ।छोरी यसरी सम्पर्कविहिन हुन थालेपछि काशीरामलाई कहिलेकाहीँ अब त छोरीले माया मारिन कि जस्तो लाग्छ ।अझै छरछिमेकले पनि नानाथरीका कुरा काट्न थालेपछि त बुवाआमाको  मन झनै कुँडिन्छ । ‘गाउँकाले विदेशमै तेरो छोरीले बिहे गरी भन्छन् । छोरी कस्तो अवस्था होली यहाँ यस्ता कुरा सुन्दा हामीलाई कस्तो भएको होला’ काशीरामको गला अवरुद्ध भयो।  उहाँलाई छोरीले त्यस्तो गरिन् जस्तो लाग्दैन । छोरीसँग धक फुकाएर फोनमा बोल्न पाउनु भएको थिएन् । त्यसैले गाउँले गरिरहेका कुरा जस्तो त अवस्था त होइन नि भनेर सोध्न पनि पाउनु भएन् ।अहिले त छोरीले फोन नगरेको पनि ६ महिना भन्दा धेरै समय भइसक्यो । त्यसैले यी मात्रै होइन यस्ता धेरै प्रश्नको उत्तर उहाँहरुले पाउनुभएको छैन । छोरीले फोन गर्ने नम्बरमा हिजोआज फोन गर्दा उठ्न छाडेको छ ।पहिले पहिले अर्कै भाषा बोल्ने केटी बोल्थिन् । अहिले त फोन नै उठ्दैन । कसरी चित्त बुझाउँ बिहे गरि भनेर,’ काशीरामले भन्नुभयो, ‘म बुढो भैसकें, त्यसलाई नेपाल झिकाउन पाएँ मर्दा नि सुखले सास जान्थ्यों ।’सन्तमायाले आमालाई पछिल्लो पटक फोन गर्दा ‘आमा म आफैं मोवाइल किनेर फोन गर्छु’ भन्नुभएको थियो । तर ६ महिना बितिसक्दा छोरीको आफ्नै फोनबाट आमालाई फोन आएको छैन ।कतै राती नै फोन आइहाल्छ कि भनेर पार्वतीले सुत्दा पनि मोवाइल सँगै लिएर सुत्नुहुन्छ तर फोन आएको छैन । आफूले खोज्दा पार नलागेपछि काशीरामले नवलपराशीको कावासोतीमा रहेको सूचना केन्द्रमा खोजिदिन आग्रह गर्दै निवेदन दिएको पनि दुई वर्ष भइसक्यो । तर केन्द्रले खोज्ने गर्दा पनि अहिलेसम्म कुनै जानकारी हात पार्न सकेको छैन ।सूचना केन्द्रले सन्तमायाको बारेमा बुझ्नका लागि काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)मा पठाएको थियो । पिएनसिसीले सन्तमायाको बारेमा सोधिखोजी गरेपनि फोनमा बोल्नेले नेपाली नबुझ्दा सन्तमाया साउदीको कुन ठाउँमा हुनुहुन्छ भन्ने जानकारी लिन समस्या भएको पीएनसीसीकी कार्यक्रम अधिकृत शान्ती सिंहले बताउनुभयो ।सन्तमाया साउदीको कुन ठाउँमा हुनुहुन्छ अनि के गर्नुहुन्छ भन्ने पनि कसैलाई थाहा छैन । जानेबेलामा दलाले सन्तमायालाई साउदी पठाउने बताएका थिए । सन्तमायाले साउदी पुगेपछि आफ्नो बारेमा सबैकुरा बताउनुभएको पनि छैन ।

त्यसैले काशीरामले छोरीको खोजीका लागि विभिन्न संघसंस्था धाइरहनु भएको छ । तर पत्तो लागेको छैन् ।काशीराम भन्नुहुन्छ, ‘लौ न मेरो छोरीलाई जसरी पनि निकालिदिनु । मर्ने बेलामा छोरीको मुख हेर्ने मन छ ।’परिवारको जिम्मेवारीपनि काशीराम कै थाप्लोमा छ । ऊन कातेर काशीरामले परिवारको खर्च त टार्नुहुन्छ । तर बुढेसकालमा सबै खर्च धान्न उहाँलाई धौ धौ छ ।७० वर्षे काशीरामका आठ जना छोराछोरी छन् ।आठ सन्तानमा पाँच जनाको बिहे भैसकेको छ । सबैजना छुट्टिएर बसेका छन् । छुट्टिएर आआफ्नै घरगृहस्थिमा व्यस्त सन्तमायाका दाजुभाइ दिदीबहिनीको पनि एउटै चहाना छ बहिनी छिट्टै घर फर्कियोस ।