लिलामणिको दाहिने हात काटिएपछि मलेसियाको कम्पनीले मेरो कामदार होइन भनेर नेपाल फर्कायो

वैशाख २४ – नवलपरासीको मध्यबिन्दु–८ का लिलामणि महतो ४६ वर्षको हुनुभयो ।  नौ जनाको परिवार चलाउने जिम्मेवारी लिलामणी कै हो तर उहाँको दाहिने हातको औंला चल्दैनन् । खेती किसानीमा निर्भर महत्तो परिवारलाई हात नचल्दाको पीडा सहिनसक्नु छ ।  ८ वर्ष अघिसम्म उहाँको हात सारसौँदै थियो । तर खेतीपातीले घर चलाउन सहज नभएको भन्दै मलेसिया गएका लिलामणीको हात विदेशकै रोजगारीले खाइदियो । ८ वर्षअघि पहिलो पटक मलेसिया जाँदा त्यति राम्रो तलब थिएन तर पनि ३ वर्षमा फर्किनुभयो ।  नेपाल फर्किएपछि गाउँमा कामको मेलो पाउनुभएन । त्यसैले दोस्रो पटक पनि मलेसिया जानुभयो । दोस्रो पटकको कमाई केही राम्रो भएपछि उहाँले एक कठ्ठा जग्गा पनि किन्नुभयो । तेस्रो पटक मलेसिया पुगेका लिलामणि को महिनाको १४ सय रिंगिट तलब हुन्थ्यो । तर ११ महिनामा दुर्घटनामा दाहिने हातको नाडी आधा भन्दा धेरै काटियो । कम्पनीले उपचार गरेर काटिएको नाडीको घाउ निको भयो तर हात चलेन ।काटिएका बेला उपचार गरेको कम्पनीले काम गर्ने क्रममा दुर्घटनामा परेपनि बिमाको रकम भने दिएन । बरु कम्पनीले घर जान भनी टिकट थमाइदियो । तर बिमाको रकम पाउनु पर्छ भन्ने लागेर लिलामणिले घर फर्किन मान्नुभएन् ।  उहाँ ११ महिना त्यहिँ बसेर बिमा बापतको रकमका लागि पहल गर्नुभयो ।

  नेपाली दूतावाससहित सहयोगी संघ संस्थामा पुगेपछि कम्पनीले उहाँ आफ्नो कामदार नै होइन भनिदिएपछि केही लागेन । मलेसियास्थित नेपाली दूतावासले उहाँलाई क्षतिपूर्ति दिन सम्बन्धित निकायलाई निर्देशन पनि दियो तर कम्पनीले दूतावासको निर्देशन मानेन् । कम्पनीले घर जा भनेकै बेलामा सबै परिचयपत्र राखिसकेको थियो । त्यसैले त्यही कम्पनीमा काम गरेको भनेर देखाउने आधार पनि उहाँसँग केही थिएन । कम्पनीले आफ्नो कामदार नै होइन भनेपछि उहाँलाई त्यहाँ बसेर बिमा रकमका लागि लड्न मात्रै होइन त्यहाँ बस्न नै समस्या भयो । त्यसैले साथीहरुसँग सहयोग मागेर नेपाल फर्किनुभयो ।  पोलिसीमै पर्दैन भनेको प्राइम लाइफले किन दियो १० हजार ?    नेपालमा आएर पनि उहाँले हातको उपचार सुरु गर्नुभयो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट ४५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुभयो । काम गरेकै ठाउँमा दुर्घटमा परेकाले उहाँले नेपालको बिमा कम्पनीबाट पनि दुर्घटनाको प्रकृति हेरेर ३ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुहुन्थ्यो । गुडवील म्यानपावरबाट मलेसिया गएका लिलामणिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबाट बिमा गर्नुभएको थियो । त्यसैले बिमाको माग गर्दै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा पुग्नुभयो तर आज हुन्छ भोलि हुन्छ भन्दै झुलाइरह्यो । सहयोग गरिदिन आग्रह गर्दै कावासोतीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पुगेका लिलामणि त्यहाँबाट कुरा गर्दा बिमा कम्पनीले गरेका कुरा सुनेर झनै तनावमा पर्नुभयो । ‘यहाँबाट सोध्दा यो त हाम्रो पोलिसीभित्रै पर्दैन भन्यो’ लिलामणि भन्नुहुन्छ ‘कि त भाचिएको कि त काटिएको हुनुपर्ने रे ।’  म्यानपावर र इन्स्योरेन्सले पैसा नदिएपनि उहाँको हातको उपचारमा खर्च भई नै रहेको थियो । सूचना केन्द्रलाई पोलिसीभित्रै परेन भनेको प्राइम लाइफले झण्डै एक वर्षपछि लिलामणिलाई फोन गरेर खातामा हालिदिएको छ भन्यो । सुरुमा त उहाँ छक्क पर्नुभयो । त्यतिका समय झुलाएर पोलिसीभित्रै परेन भनेको बिमाको पैसा के भएर आफै दियो भन्दै सोच्दै पैसा निकाल्न नारायणगढ पुग्नुभयो । तर पैसा हेरेपछि भने उहाँ झनै छक्क पर्नुभयो । ‘प्राइम लाइफको नारायणगढ शाखामा पुग्दा जम्मा १० हजार रुपैयाँको बनाइदिएको रहेछ’ उहाँ भन्नुहुन्छ ‘मैले चन्दा त मागेको होइन नी विदेश जाँदा गरेको बिमा बापतको रकम पो मागेको हो तर चन्दा मागे जस्तो गरेर १० हजार दियो ।’ दाहिने हातका ५ वटा औँला चल्दैनन् ।

औंलै नचलेपछि उहाँले अहिले कुनै काम गर्न सक्नुहुन्न ।  त्यो १० हजार रुपैयाँ किन र कुन आधारमा दियो न लिलामणीलाई थाहा छ न त सूचना केन्द्रलाई नै । यस बारे पैसा हात पारिसकेपछि प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी कमल अर्यालसँग सोध्नुभयो । उनले अहिलेसम्म कसैलाई पनि यसरी पैसा नदिएको भएपनि लिलामणिलाई चाहिँ उहाँको अवस्था हेरेर आर्थिक सहायता गरिएको बताए । यदी पोलिसीभित्रै  पर्दैननथ्यो भने त्यो दश हजार रुपैयाँ किन दियो अनि यदी पोलिसीभित्र पर्छ भने १० हजार रुपैयाँ मात्रै दियो ? महतोले अझै बुझ्न सक्नुभएको छैन ।