पैसा नहुँदा साउदीकाे अस्पतालमा छोरा अलपत्र, बुवा आमा भन्छन् ‘बरफ बेचेर कसरी नेपाल फर्काउँ ?’

 धर्मनाथको परिवारको अवस्था निक्कै नाजुक थियो । एउटा छोरो, परिवारको अवस्था देखेर उहाँले  रोक्न सक्नुभएन ।  धर्मनाथ सन् २०१४ को मार्च २३ मा साउदी अरव जानुभयो ।

 ३५ वर्षका पासवानलाई साउण्ड लाईन रिक्य्रुटमेन्ट म्यानपावरले साउदीको अबदुल्लाह सहिदमा लेबरको काममा ८ सय रियाल हुन्छ भनेको थियो । तर भने अनुसारको तलब नपाएपछि उहाँले नेपालबाट म्यानपावरले पठाएको कम्पनीबाट दुई महिनामै भागेर अन्तै काम गर्न थाल्नुभयो । भागेर काम गरे पनि त्यो कम्पनीले पनि उहाँलाई तलब दिएन । त्यसपछि त उहाँ न घरको न घाटको भने जस्तै हुनुभयो । पहिलेको कम्पनीबाट भागिसकेको र दोस्रो कम्पनीले पनि तलब नदिएपछि उहाँ कहाँ जाने के गर्ने भनेर भौतारिन थाल्नुभयो । कामको तनाव त छँदै थियो साथीहरुले पनि बस्दै गरेको कोठाबाट निकालिदिएपछि उहाँको बास सडकमै भयो । त्यति बेला उहाँ विदेश गएको तीन वर्ष भइसकेको थियो ।  ‘चार दिन सडक बस्दा ऊ अचेत भइसकेको थियो रे त्यतिबेला पुलिसले उसलाई अस्पताल पुर्याएका रहेछन्’ नेपाली कर्मचारीहरुले चन्दा सङ्कलन गरेर उपचार गरे । त्यो उपचारबाट केही ठिक भएर फर्किएका धर्मनाथ दुर्घटनामा परेपछि भने थलिनुभयो ।  दुर्घटनामा परेका धर्मनाथलाई प्रहरीले फेरि अस्पताल पुर्यायो । उहाँको शल्यक्रिया पनि भएको जानकारी परिवारले पाएको छ । तर उद्दार गरेर घर फर्काउने क्षमता परिवारसँग छैन । किन अस्पतालले धर्मनाथको उपचारको २७ हजार ५ सय रियाल अर्थात ७ लाख २७ हजार रुपैयाँ भन्दा धेरैको बिल निकालेको छ ।

 धर्मनाथका बुवा जुलुम परिवार चलाउन बरफ बेच्नुहुन्छ । दिनभरी बरफ बेचेर जम्मा भएको पैसाले परिवारका लागि बिहान बेलुकाको छाक टार्नै मुस्किल छ उहाँलाई । त्यसैले ७ लाख भन्दा धेरै पैसा जम्मा गर्ने कुरा उहाँको कल्पना भन्दा बाहिरको जस्तै भएको छ ।  त्यसैले छोरालाई घर फर्काउने पैसा जम्मा गर्न सक्नुभएको छैन । आफ्नो क्षमताले नसकेपछि जुलुम अहिले सरकार र सहयोगी संघ संस्थाको बाटो हेरिरहनुभएको छ ।