नेपालमा नै यस्तो शहर जहाँ कहिल्यै बन्द, हडताल र आन्दोलनको प्रभाव हुदैन

नेपालमा प्रायः बन्दा हड्ताल भईनै रहन्छ र त्यसको प्रभाव जुन सुकै शहर तथा गा्रमिण भेगमा स्वभाविक नै मानिन्छ । तर नेपालमा नै यस्तो एउटा अनौठोको शहर छ जहाँ कहिल्यै बन्द, हडताल र आन्दोलन हुदैन । सदरमुकाम विराटनगरदेखि २९ किमी उत्तरपूर्वमा पर्ने मोरंगको कोसीहरैचा एक यस्तो नगर हो जहाँको जनजीवन कहिल्यै ठप्प हुँदैन ।

दल, नागरिक समाज र विभिन्न अधिकारकर्मी संस्थाबीच यहाँ बन्द वा आन्दोलन नगर्ने सहमती भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यहाँको बजारमा कुनै घटना वा दूर्घटना भइहालेमा स्थानीयले चक्काजाम गर्दैनन् । शैक्षिक संस्था बन्द गराउँदैनन् । बरु कसैलाई असर नपर्नेगरी सरोकारवाला पक्ष मात्र बसी छलफल गरी समस्याको समाधान खोज्छन् ।

यही कारणले मधेस र पहाडका विभिन्न जिल्लाका नागरिकले व्यापार, बसोबास एवं पठनपाठनकालागि यो शहरलाई रोजिरहेका छन् भने छोटो समयमै यसले विकासमा पनि फड्को मारेको छ ।

"आन्दोलन नहुने थलो भएको थाहा पाएर यही व्यापार सारेँ," ४७ वर्षीया मिना लुईटेलले भनिन् । सुनसरी इनरुवाकी स्थायी वासिन्दा उनले तीन महिना अघि मात्रै कोसीहरैचा४ मा भोजनालय गृह खोलेकी हुन् ।

लगातारको आन्दोलनले व्यापारमा नोक्सानी भएपछि इनरुवाको स्थापित कलर ल्याब बिक्री गरी यहाँ आउनु परेको लुईटेलले बताइन् । चार छोराछोरीकी आमा उनले व्यवसायकालागि ठाउँकै खोजबीनमा केही समय बितेको जानकारी दिइन्।

राजधानीलगायत देशका सबै शहर चहारेपछि यो थलोलाई रोजेको लुईटेलले अनुभव सुनाइन् । ‘ट्राफिम जाम, धुँवा, धुलो र पानीको अभावले काठमाडौं मन परेन, ’लुईटेलले भनिन्, ‘अस्थिर राजनीतीले गर्दा अन्यत्र व्यापार गर्ने आँट आएन । स्थानीय बसपार्कमा चियानास्ता पसल गरिरहेका मोरंगको रंगेली(५ का शंकर शाहले पनि यो आनन्दले गरीखाने थलो भएको बताए ।

उल्लेखनीय के छ भने यहाँ कसैले पनि कुनै निहुँमा सडक अवरुद्ध गर्दैनन् । यहाँ सुरुदेखि नै राजनीतीक एवं सामाजिक एकता भएकोले यो पूर्वमै फिटिक्कै बन्द, हडताल र आन्दोलन नहुने ठाउँको मान पाएको ४६ वर्षीय हार्डवेयर एवं अटो व्यवसायी खिलबहादुर ९केबी० श्रेष्ठले बताए । "राजनीतीक आस्था वा दलीय स्वार्थ त्यागेर सबैले स्थानीय हित र प्रगतिलाई प्राथमिकता दिएका छन्," उनले भने । 

 आफन्त यही भएकाले २०३४ सालमा पिता बुद्धिमान ७ जनाको परिवारसहित तेह्रथुमबाट यहाँ आएको श्रेष्ठले संझे । ‘यहाँ आउँदा म मुश्किलले ७र८ वर्षको थिएँ, अहिले ठूलो बजार छ, त्यतिबेला वरिपरि केही थिएन, दिउँसै स्याल कराउँथ्यो,’ श्रेष्ठले भने, ‘हाम्रो बाहेक जम्मा दुई वटा परिवार यहाँ बस्थे ।"

यो थलोको अकस्मात एवं आश्चर्यजनक ढंगले उत्थान भएको श्रेष्ठको धारणा छ । उनको अनुसार बस्नलाई सुरक्षित ठाउँ, यातायातको दृष्टिकोणले उपयुक्त एवं अटुट सामुदायिक एकता यसको कारण हो । स्थानीयले सामूहिक रुपले वल्लोदेखि पल्लोचोकसम्मको ३ किमी बाटोमा कालोपत्रे गरेको श्रेष्ठले जानकारी दिए ।

उक्त मुख्य राजमार्गको दुवैतिरका जग्गा धनीले यसकालागि चन्दा दिए । उनीहरुले आफ्नो अघिल्तिर पर्ने बाटोकालागि प्रति फिट जग्गाको हिसाबले रकम र गिट्टी दिएका थिए । यहाँ पूर्वाधार विकासले गति लिएपछि २०५३ सालदेखि यससँग सम्वद्ध व्यापार सुरु गरेको व्यवसायी श्रेष्ठले बताए । 

 "यहाँ निर्माण गतिविधि बढेपछि हार्डवेयर सामग्रीको व्यवसाय गरेँ, सुन्दर चिल्ला सडकसँगै गाडीको माग बढ्यो,’उनले भने,‘७र८ वर्षदेखि अटो व्यवसायी पनि भएको छु ।" अहिले यहाँ गाडीका आधा दर्जन बढी शो रुम छन् । मुलुकको हरेक थलोबाट यहाँ वाहनको आवागमन हुन्छ । श्रेष्ठले अन्यत्र नभएर अब यही भविष्य देखेको बताए । 

सुरुवातमा तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ताप्लेजुंग र पाँचथरवासीले यहाँ घरजम गरे । केही वर्षदेखि मुलुकभरीकाले यो नगरलाई स्थायी वासकोलागि रोज्न थालेको श्रेष्ठले बताए । जनसहभागितामा सबैतिर सडक, नाला, ढल, सौर्य बत्ती र प्रहरी एकाई थपिंदैछ । यहाँ पहिलेदेखि सशस्त्र प्रहरी बलको क्याम्प, इलाका प्रहरी कार्यालय र चौकी छ ।

कोसीहरैचा उद्योग वाणिज्य सँघका सल्लाहकार रमेश खड्काको चौथो पुस्ता यही माटोमा हुर्कि रहेको छ । यही पलेबढेका उनले जागरुक र मिलनसार स्थानीयको प्रयासले यहाँको विकास भएको बताए । खड्काले भने, ‘हामी बन्द गर्न दिंदैनौं, कसैले यहाँ त्यसको समर्थन गर्दैन ।"

कुनै बेला यहाँ पनि वर्षामा हिलामय एव घाम लागेको बेलां धुलामय सडक हुने गरेको खड्काले विर्सेका छैनन् । घोडा, गोरुगाडा र साइकल मात्र यातायातको साधन भएको यो ठाउँमा २०२२ मा कालोपत्रे भएर मोटर गुड्न थालेको उनले संझे । यो कार्यमा जनताको योगदान बढी थियो । खड्काका अनुसार आफ्नो गाउँ आफै बनाउँ भने झैं जनताले यहाँका सडकहरु निर्माण गरेका हुन् ।

यसका लागि ७० प्रतिशत खर्च जनताले नै बेहोरेको उनले बताए । ‘बाटो नहुँदा यहाँबाट वरिपरिको शहर पुग्न तीन घण्टा लाग्थ्यो, अहिले आधी घण्टारपन्ध्रह मिनेटमा पुगिन्छ,’खड्काले भने । यो नगरको केही किमीको दुरीमा पूर्वका चर्चित बजारहरु इटहरी, धरान, खनार, पथरी, दमक, विराटनगर, बेलबारी, केराबारी र रंगेली छ ।

२०३६ सालसम्म यहाँ निजि विद्यालय थिएन । एउटा मात्र सरकारी विद्यालय थियो । अहिले वडापिच्छै निजि विद्यालय र प्रशस्तै सरकारी शिक्षण संस्था छ । सैद्धान्तिक, प्राविधिक र व्यावहारिक विषयमा स्नातकोत्तरसम्मको अध्यापन गराउने यहाँ प्रतिष्ठित कलेजहरु छन् । दश जोड दुई पढाइ हुने तीन कलेज र विविध विषयमा स्नातकोत्तरको अध्यापन गराउने कलेजहरु छन् । स्थानीय स्रोत र साधनबाट केही एफएम रेडियो एवं पत्रिका पनि सञ्चालित छन ।

यहाँ स्तरिय खालका झन्डै ३५ होटेल एवं रेष्टुरेन्ट, तीन डिपार्टमेन्टल स्टोर, १० उद्योगरकारखाना, राम्रा खालका ६० किराना पसल र थुप्रै घरेलु उद्योग रहेको सँघका सल्लाहकार खड्काले जनाए ।  

अन्य शहरहरुको तुलनामा यहाँ प्लटिंग व्यवसाय वा जग्गा दलाली कम रहेको उनले औंल्याए । ‘प्लटिंगबाट यो ठाउँ पनि अछुतौ छैन तर कम छ,’खड्काले भने,‘जग्गाको कारोबारभन्दा अन्य खालका आय आर्जनमा स्थानीयको जोड छ ।"

वरिपरिका अन्य शहरहरुको दाँजोमा यहाँ जग्गा सस्तो भएकाले कम आम्दानी भएका र असल मान्छेहरुको रोजाईमा यो शहर परेको छ । ‘राम्रा र बौद्धिक मान्छेले नगर बन्ने हो जोसँग धेरै पैसा हुन्न, त्यही भएर त्यस्ता जमातलाई यहाँ आकर्षित गर्न जग्गा महंगो नहोस भन्नेमा सतर्क छौं,उनले भने ।

यस्तो सुन्दर एवं शान्त ठाउँमा बस्न एवं काम गर्न पाउँदा गर्व लागेको कोसीहरैंचा१ की ३० वर्षीया सोमा बस्नेत थापाले बताइन्  । झापाको गौरादहमा माइती घर भएकी उनी यो शहरकी बुहारी एवं प्रविधि सम्वद्ध एक कलेजसँग आवद्ध छिन् । ‘दल, व्यापारिक एवं सामाजिक सँघसंस्थाले यहाँ बन्द हुन नदिने सहमती गरेर ठूलो गुण लगाएका छन्,’उनले भनिन्,‘त्यही भएर यो एक दसकमा विकास एवं निर्माणका थुप्रै कार्य भएर यो थलोले काँचुली फेर्यो ।"

यहाँ हुलडंगा वा उच्छृंखल गतिविधि हुन्न । विभिन्न कारणले पूर्वी पहाडी भेक र तराईको विभिन्न थलोबाट विस्थापित भएकाहरुले समेत बन्दको प्रभाव नपर्ने शान्त माहौलले गर्दा यही बसाइ सराई गरिरहेको व्यवसायी ३८ वर्षीया लक्ष्मी राई मल्लले बताइन् । मल्लले भनिन्,‘यहाँ जसरी प्रगति भइरहेको छ, त्यो अनुरुप पाँच वर्षभित्र यहाँ सबै सेवा हुन्छन्, यो विश्वकै नमूना शहर बन्छ ।"

भूकम्पले समेत ठूलो क्षति नपुग्ने खाले चिटिक्क परेको ससाना घर र पसल यहाँको विशेषता हो । पूर्व वा मुलुकका अन्य शहरहरुजस्तो यहाँ अग्लाअग्ला घर र व्यापारिक प्रतिष्ठान छैन । ‘मुलुकले महाभूकम्पबाट बेहोरेको क्षतिबाट यहाँकाले ठूलो पाठ सिकेको हुनाले ठूला वा अग्लाभन्दा साना र सुरक्षित भवन निर्माणमा जोड दिन्छन्,’ उनले भनिन् ।

६४।२ वर्ग किमीमा फैलिएको उक्त नगरपालिकाको जनसंख्या झन्डै ७५ हजार पुगेको छ । २०४७ सालसम्म यहाँको जनसंख्या १० हजार ५ सय ९२ मात्र थियो । बाहुन, क्षेत्री, राई र लिम्बुलगायतका जातीको बाहुल्य रहेको यस भूमिका ८० प्रतिशत वासिन्दा किसान छन् ।

बसाईसराईको गतिसँगै कुनै पनि ठाउँको जनसंख्या बढ्नु संसारकै नियम भएको कोसीहरैचा नगरपालिकाका कार्यकारी अधिकृत शशीकुमार राईले बताए । तीन वर्षअघि मात्र वरिपरिका तीन गाउँहरु हरैचा, मिर्गोलिया र इन्दपुर मिलेर बनेको यो नगरपालिकामा मुलुकका सबैतिरका नागरिक भेटिन्छन् ।

राम्रो सडक, पिउने पानी, बिजुली, संचार, शिक्षा, व्यापार र सहज यातायातका कारणले यो ठाउँ सबै बर्गका नागरिकको केन्द्र बनेको उनले प्रष्टयाए । राईले भने,‘यहाँबाट केही मिनेटमै वरिपरिका महत्वपूर्ण शहरहरु पुग्न सकिन्छ । गत वर्ष एकै पटक १४ किमी बाटो निर्माण गर्ने मुलुककै यो एक मात्र नगरपालिका भएको उनले बताए ।

 "हामी बढी कालोपत्रेमा केन्द्रीत छौं तर यतिको सडकले मजाले बजारलाई जोड्ने भएकोले मानव विकासका अन्य पक्षमा जोड दिन चाहिरहेका छौं,’ राईले भने ।

जग्गाको मुल्य बढाएर वा यसकै दलाली गरेर खाने प्रवृतिलाई निरुत्साहित गर्न आम्दानीका अन्य पाटोमा नगरपालिकाले लगानी गर्न उत्सुक रहेको राईले बताए । ‘व्यवसाय एवं खेती गरेर आर्थिक वृद्धि गर्नुपर्छ,’ कार्यकारी अधिकृत राईले भने । स्थानीय चार खोलानालाबाट मगग्यै बगिरहेको पानीको पूर्ण सदुपयोग गर्ने योजनालाई उक्त नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

यस दिशामा सृजनशील युवा समूहको अग्रसरतामा खोलाको पानीलाई सिंचाई र माछापालनलगायतका विविध कार्यमा प्रयोग गर्ने लक्ष्य उसको छ । यसमा नगरपालिकाले साझेदारी गर्ने राईले बताए । ‘यसकालागि ३० जनाको समूहलाई जनही एक लाखको दरले ३० लाख रुपैयाँ दिनसक्छौं,’उनले भने,  ‘प्रशस्तै जग्गा भएको यस थलोमा कृषि एवं घरेलु सामग्री उत्पादनका अन्य योजनालाई समेत प्राथमिकतामा राखेका छौं ।