मरेको ५ महिने शिशु ब्यूँताउने आश्वासन दिने एक किशोरीसहित तीनजना क्रिश्चियन धर्मावलम्बीलाई प्रहरीले पक्राउ

स्याङ्जा : मरेको ५ महिने शिशु ब्यूँताउने आश्वासन दिने एक किशोरीसहित तीनजना क्रिश्चियन धर्मावलम्बीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हरिनास गाउँपालिका–७ चाङ्सिङ्का १४ वर्षीया सचिना परियार, २४ वर्षीया कृष्णमाया थापा र ३० वर्षीया गंगा थापा छन् । परियार अमला भञ्ज्याङ् माविका कक्षा १० की विद्यार्थी हुन् । 

स्थानीय रिमबहादुर विक र रीता विकका शिशुको असार ११ गते मृत्यु भएको थियो । शिशुको मृत्युपछि उनका आफन्तले जमिनमुनि खाडलमा पुरी आफ्नो धार्मिक संस्कार अनुरुप अन्तयेष्टि गरे । अन्त्येष्टिको करिब २ घण्टापछि त्यही गाँउका तीनजना आएर शिशु नमरेको बताए । विश्वासीको प्राथनापछि ब्यूँतिन सक्ने आश्वासन दिएर शिशुको शव खाडलबाट झिकेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । 

‘शिशु झिकेपछि काखमा राखेर प्राथना गरेँ, तर शिशु ब्यूँतिएन’, १४ वर्षीया सचिना परियारले भनिन् । आफ्नी आमाको खुट्टामा लागेको चोट विश्वासीको प्राथनापछि ठीक भएका कारण आफू विश्वासी बन्नेतर्फ लागेको सचिनाले बताएकी छन् । त्यसपछि गाँउमा हल्लखल्ला मच्चियो । उनीहरु तीनैजनालाई तनहुँको खैरनीबाट बिहीवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको छ । 

                                              Sources: Annapurna Post