भाइबहिनी र आमाको ख्याल गर्नु भनेर कतारबाट बुवाको अन्तिम चिठ्ठी आयो

काठमाडौं, असार २२ – कतारको दोहाबाट आएको बुवाको चिठ्ठी पढ्न छोराछोरीको हानाथाप नै पथ्र्यो । महिनाैं पछि आउने बुवाको चिठ्ठीमा लेखिएको हुन्थ्यो ‘छोरी निर्मला  म टाढा छु । भाइबहिनी र आमाको ख्याल गर्नु ।’ भोजपुरकी निर्मला राईले कतारबाट बुवाले पठाएको चिठ्ठीको अंश सुनाउनु भयो ।त्यो बेला खबर आदानप्रदान गर्ने र मनको पोको फुकाउने चिठ्ठी भन्दा अर्को विकल्प थिएन । फोन सुन्न दुई घण्टा हिँड्नु पर्ने ।

बुवासँग बोलेर मुस्कुराउँदै स्कुलबाट फर्किएकी दिदी उर्मिलाले बुवासँग बोलेको सुनाएकी थिइन् । निर्मला त बुवासँग बोल्न पनि पाउनु भएन ।  ऋषिजितले कतारबाट बेलाबेलामा चिठ्ठी पठाइरहन्थे । त्यो दुई वर्ष जस्तो रह्यो । पल्लो गाउँकोे फोनमा दुई तीन पटक फोन पनि गरेका थिए । 

‘विस्तारै चिठ्ठी र फोन आउन छाड्यो, हामीले धेरै कुर्‍यौ तर आजसम्म आएको छैन्,’ निर्मलाले भन्नुभयो, ‘बुवाले किन फोन गर्नुभएन भनेर मैले कति गरे आजसम्म पनि लागेन ।’ बुवाले दिएको नम्बरमा फोन त लागेन । चिठ्ठी पठाउन पनि सानै उमेरका निर्मलाका दिदीभाइले भेउ पाएनन् । बुवाले पठाउने चिठ्ठी दोहा कतार लेखेर आएको हुन्थ्यो ।

चिठ्ठी कसरी पठाउने पनि निर्मलालाई थाहा पनि थिएन् । अहिले निर्मलाको बुवाले चिठ्ठी नपठाएको पनि नाै वर्ष पुग्न लागिसक्यो । बुवाको कुनै खवर पनि आएको छैन् । २०६३ सालमा कतार गएका निर्मलाका बुवा ऋषिजित राई कहाँ हराए पत्तो छैन् ।निर्मलाका सात जना दिदीभाइ छन् । घरमै बसेर सात जनाको पालनपोषण र घरखर्च चलाउनै गाह्रो भएपछि निर्मलाका बुवा विदेश गएका थिए । बुवा हिँडेपछि सात जना छोराछोरीको लालनपालन निर्मलाकी आमा मनमाया एक्लैले गर्नुभयो ।

‘बुवासँग सम्पर्क हुँदासम्म त कुनै अप्ठेरो थिएन, हामी खुसी थियौ । तर आठ जनाको एउटै सहारा बुवा नै हराउनुभयो,’ बुवा सम्पर्कविहीन भएपछि निर्मलाको परिवार माउ बिनाको चल्ला झैं भएका छन् । बुवाको फोन र चिठ्ठी आउन छाडेपछि निर्मलाकी आमाको दिन रोएरै बित्न थाल्यो । आमा त कति रुने, दिनरात रुनुहुन्थ्यो ।

बुवाले फोन गर्न र चिठ्ठी पठाउन छाडेपछि आमाको आँखा ओभानो देखेको छुइन, यति सुनाउदा निर्मलाको आवाज भासियो । बुवाको बारेमा बताइरहेकी निर्मला काप्न थाल्नुभयो । आमाको पीडा शब्दमा बोल्न उहाँलाई गाह्रो भइरहेको थियो । ९ वर्षदेखि आमाको आँशुको साँछि बन्नुभएकी निर्मलालाई दुईचार शब्दमा सबै चिज व्यक्त गर्नु कठिन भइरहेको थियो । निर्मलाकी आमाको मुखबाट दिनहुँ एउटै आवाज निस्कन्छ, ‘नानी अब त तिम्रो बुवाको मुख देख्न पाउँदिन जस्तो छ ।’ निर्मलासँग आमाको प्रश्नको उत्तर छैन् ।

‘बुवा सम्पर्कविहिन भएको धेरै समय भएर होला आमाले पनि बुवासँग भेट हुने आशा मारेको,’ कापेकै आवाजमा निर्मला बोल्नुभयो, ‘एउटा भाइ त बुवा जाँदा गर्भमा थ्यो, त्यसले त बुवाको मुख पनि देख्न पाएको छैन् ।’  निर्मलाको कान्छो भाइले बुवाको मुख देखेको छैन् । जान्ने भएदेखि नै आमाको आँशु देखेको भाइले बुवा हुँदाको खुसी भोग्नै पाएको छैन् ।

ऋषिजित एकदमै मिलनसार र सहयोगी थिए । निर्मलालाई बुवाले एकपटक पनि ठूलो स्वरले गाली गरेको याद छैन् । कसैलाई पनि दुःख नदिने, नढाट्ने, बुवाले आफ्नै परिवारलाई किन ढाँटे, किन सम्र्पकविहीन भए निर्मलाले जवाफ पाउनुभएको छैन् ।  फोन र चिठ्ठीमा ऋषिजितले विदेशमा सबै राम्रो छ भनेका थिए ।

कतार मै भएका छिमेकीले सुनाए अनुसार उनी कतार पुगेको एक वर्षमा अवैधानिक भएका थिए ।  अवैधानिक भएपछि ऋषिजित कहाँ हराए कसैलाई थाहा छैन् । निर्मलाको आमासँग अन्तिमपटक फोनमा कुरा हुँदा ऋषिजितले  ‘म घर आउछु तिम्लाई दुःख भयो’ भनेका थिए । तर निर्मलाकै आमाले उहाँलाई नआउनु अहिले ऋण नसकि भन्नुभएको थियो ।

निर्मलालाई अहिले बुवाले गाह्रो भएर त्यसो  ‘सायद त्यो बेला बुवा आको भए ऋण भएनी बुवा त सँगै हुन्थे, आज न त बुवा छन, न त हामी खुसी छौ,’ निर्मलालाई बुवाको त्यो अन्तिम फोन सम्झदा साह्रै पछुतो लाग्छ । बुवा विदेशजादा ११ वर्षकी निर्मला अहिले २० वर्षकी हुनुभयो । बिएड दोस्रो वर्षमा पढ्नुहुन्छ । बुवा जादा गर्भमा भएको भाइ पनि अहिले ठूलो भइसकेको छ । निर्मलाकी जेठी दिदी उर्मिला युएईमा छिन् । उनैले कमाएर घरमा भरथेग गर्छिन् । खेतीपातिले बिहान बेलुकाको छाक टरेको छ ।

  निर्मलाले बुवाको खोजीका लागि कन्सुर सेवा विभागमा पनि अनुरोध गर्नुभएको छ । बुवा भेटिन्छन या भेटिन्न निर्मलालाई थाहा छैन् । निर्मलालाई पैसा नकमाएको भएर बुवा सम्पर्कविहीन भएको हो कि झैं लाग्छ । ‘पैसा नभएपनि बुवा तपाईं आउनुस् हाम्लाई अरु चाहिन्न,’ निर्मला बुवालाई फर्कन अनुरोध गर्नुभयो ।