समिरका बुवा भन्छन् – मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएको मान्छे मेरै छोरो पो हो कि !

काठमाडौं, असार २३ – ‘मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएका छन् । मलेसियाको सडकमा भेटिएका ती युवाले आफ्नो घर नेपाल भने पनि अरु कुरा नबताएको ती युवालाई भेट्ने नेपालीको भनाई छ ।’  केही महिना अघि स्थानीय रेडियोले भनेको यो खबर पूर्णप्रसादको कानमा पर्‍यो । त्यसले उहाँलाई झस्कायो ।

किनकी उहाँका जेठा छोरो समिर मलेसियामा हराएको झण्डै १२ वर्ष भइसकेको थियो ।  कमाउने सपना लिएर गएको छोराको कमाई भएन, सपना पनि पूरा भएन भनिरहेका बेला हराएकाले कतै धेरै तनावले मानसिक सन्तुलन नै पो गुमायो कि भन्ने निष्कर्षमा पनि पुग्नुभयो पूर्णप्रसाद ।

तर उहाँले रेडियोमा खबर सुनेको त्यो व्यक्तिका बारेमा थप कुरा बुझ्न सक्नुभएन् ।समिर धादिङकाे सिद्धलेक गाउँपालिका १ का  पूर्णप्रसाद सिलवालका जेठा छोरा । चार जना छोराछोरीसहितको ६ जनाको परिवार । आर्थिक स्थिती कमजोर  त्यसैले आइए पढेका समिरले विदेश जाने सोच्नुभयो ।

परिवार चलाउनै समस्या भएका पूर्णप्रसादले छोराका लागि एक लाख रुपैयाँ ऋण खोजिदिनुभयो मलेसिया पठाउन । विदेश जाने बेलादेखि नै समिरले परिवारको अवस्था सुधार्न मात्रै होइन मेरो जिन्दगी पनि बनाउनलाई विदेश जान लागेको हो भन्नुहुन्थ्यो परिवारसँग । ठूलो सपना बोकेर मलेसिया त पुग्नुभयो तर कमाउन सक्नुभएन । त्यसैले तीन वर्षसम्म फोन आयो पैसा चाहिँ पठाउन सक्नुभएन ।  तीन वर्षपछि फोन गर्दा समिरले ‘मलाई कम्पनीले फसायो ।

सोचेजस्तो भएन ।’ भनेको अहिले पनि पूर्णको दिमागमा ताजै छ । तर त्यतिबेलै उहाँले ‘म घरबार चलाउन मात्रै आएको थिइन तर सोचे जस्तो भएन’ पनि भन्नुभएको थियो । त्यतिबेला पूर्णप्रसादलाई कम्पनीले के गरेर फसायो त भनेर सोध्ने होस पनि आएन । त्यसपछि छोराको फोन आउनै बन्द भयो ।  छोराको फोन नआएको अहिले त १२ वर्ष भन्दा धेरै भइसक्यो । छोराको फोन आउन छोडेपछि छोरा खोज्दै बुवासँगै आमा चन्द्रकुमारी पनि विभिन्न ठाउँमा पुग्नुभयो ।

तर निराशा बाहेक केही हात परेन । व्यक्ति र संघसंस्थामा धाउँदा पनि केही नभएपछि चन्द्रकुमारी छोराको अवस्था बारे बुझ्न धेरै जना ज्योतिषीकोमा पनि पुग्नुभयो । तर ज्योतिषीका कुरा पनि बाझिए ।  ‘कसैले अब छिट्टै फर्किन्छ भने कसैले उतै रमाएर बसेको छ फर्किन्छ जस्तो देखिंदैन भने’  पूर्णप्रसाद भन्नुहुन्छ । पछिल्लो पटक फोन गर्दा समिरले उद्देश्य पूरा गर्न सकिन अब घर फर्किन्छु भन्नुभएको थियो । तर घर फर्किनु भएन । घर नफर्किएपनि के कारणले बेपत्ता हुनुभयो भन्ने चाहिँ परिवारले अझै बुझ्न सकेको छैन ।

‘गाउँमा हुँदा सोझो थियो । मेरो छोरो यस्तो निष्ठुरी त होइन । कसैले फसाएको हुनुपर्छ ।’ बुबा पूर्ण प्रसाद सिलवालले भन्नुभयो ‘पैसाको हामीलाई कुनै लोभ छैन । छोराको मुख मात्रै देख्न पाए हुन्थ्यो । मर्ने बेला भइसक्यो, छोरो नआउने भयो । हामीलाई बिर्सिएर बसेको हो कि, अप्ठेरोमा परेको हो । केही थाहा छैन ।’ घरको जेठो छोरा बेपत्ता भएपछि परिवारमा रुवाबासी चलिरहन्छ । गाउँका कोही विदेश विदेशबाट फर्किएको देख्नसाथ पूर्णप्रसाद सिलवाल रोइहाल्नुहुन्छ । मलेसियाबाट फर्कनेसित पूर्ण प्रसाद आफ्नो छोरोको पुरानो फोटो देखाउँदै सोधखोज पनि गर्नुहुन्छ ।

तर छोराको अहिलेसम्म कुनै खबर छैन । ‘मेरो छोरा पनि यसैगरी आउने कहिले होला ?’ उमेरले ६ दशक पार गरिसकेका पूर्ण प्रसाद छोराको चिन्ताले झनै गल्नुभएको छ । शारीरिक कमजोरी त छँदैछ त्यसमाथि मानसिक पीडा थपिदा झनै समस्या भएको छ । परिवारको एउटै मात्रै चाहना छ, छोरो घर फर्कियोस । पूर्णप्रसादले भन्नुभयो ‘सकुशल छोरा आइदिए हामीलाई त्यो भन्दा ठूलो धन अरु केही हुँदैन ।’