भारतले तटबन्ध निर्माणमा चासो नदिँदा पूर्व पश्चिममा पर्ने गाउँ डुबानमा परे

काठमाडौं : नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न नेपालले सन् २०१४ को जनवरीमै प्रस्ताव गरे पनि भारतले अहिलेसम्म स्वीकार गरेको छैन ।

सिँचाइ मन्त्रालयअन्तर्गतको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले 'नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति' (जेआईसीएफएम) मार्फत भारतलाई खाँडो नदी नियन्त्रणका लागि विस्तृत प्रतिवेदन (डीपीआर) बुझाएको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ताका अनुसार दुवै देशका सम्पर्क अधिकारी सम्मिलित संयुक्त टोलीले सर्भे गरेर डीपीआर तयार गरेको थियो । नेपाल-भारतबीच सीमा क्षेत्रका नदी तथा खोलामा तटबन्ध निर्माण गरी दुवै देशका बासिन्दाको जिउज्यान सुरक्षा गर्ने उद्देश्यले झन्डै दुई दशकदेखि संयुक्त रूपमा तटबन्ध निर्माण कार्य हुँदै आए पनि खाँडोको हकमा भारत अहिलेसम्म प्रवेश गरेको थिएन । तर, संयुक्त रूपमा डीपीआर तयार भएपछि भारतले तत्काल सहमति दिने र निर्माण कार्य अघि बढ्नेमा विभाग ढुक्क थियो । 'हामीले खाँडो नदी नियन्त्रणका लागि भारतसमक्ष धेरैपटक पत्राचार गर्‍यौं,' विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले सोमबार अन्नपूर्णसित भन्नुभयो, 'उताबाट केही जवाफ आएन ।' दुवै देशका प्राविधिक टोलीले महेन्द्र राजमार्गदेखि दसगजासम्म करिब ३५ किलोमिटर तटबन्ध निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ लागतसहितको प्रतिवेदन दिएको थियो ।

खाँडो नदी सप्तरीका अन्य सानातिना नदीसमेत मिसिएर भारत हुँदै कोसी नदीमा मिसिन्छ । यही नदीमा तटबन्ध नहुँदा बर्खायाममा परेको पानीले शनिबारदेखि सप्तरीको खाँडो नदीदेखि पश्चिममा पर्ने तिलाठी, सकरपुरा, पूर्वमा पर्ने बेल्ही र रम्पुरामल्हनियाँलगायत गाउँ डुबानमा परेका हुन् ।