बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

धादिङ, असार ३१ – यात्रुवहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा शनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ खटौटीमा ३१ जना घाइते भएका छन् ।

महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र अर्को दिशातर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको मालबहाक ट्रक ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले बताउनुभयो ।

दुर्घटनामा बस र ट्रक दुबैका चालकसहित ३१ जना घाइते भएकोले राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

गम्भीर घाइते तीन जनाको थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुबै गाडीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।