मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि पहिरो खस्यो

इच्छाकामना चितवन :  अस्पतालमा आमा भेट्न भरतपुर जान लागेकी तनहुँ किहुकी मिठु सिग्देल नारायणगढ-मुग्लिन सडकखण्को चारकिलोमा पहिरो गएका कारण बाटोमै अलपत्र पर्नुभयो । अन्तिम अवस्थाकी आमाको मुख हेर्न हिँडे पनि चार किलोमा पहिरो गएपछि उहाँ बाटोमै अलपत्र पर्नुभएको हो ।

सडक नखुलेपछि उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘यात्रुले यस्तो सास्ती पाउँदा केही नगर्ने सरकार किन चाहियो हामीलाई ।' लामो प्रयासपछि राति बाटो खुलेपछि उहाँ त्यसतर्फ जानुभएको छ । सिग्देलकी ७० वर्षीय आमा तारा लम्सालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
मुग्लिन-नारायणगढ सडकखण्डको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो खसेको हो । पहिरोका कारण दिउँसोदेखि नै सडक अवरुद्ध भएको थियो । साढे तीन बजे गएको पहिरो साँझसम्म पनि हटाउन सकिएको थिएन । पानी नपर्दा पनि खसेको पहिरो हटाउन समय लागेपछि यात्रु बिचल्लीमा परेका हुन् ।

यात्रुहरू पहिरो जोखिमको उक्त क्षेत्रमा रात काट्न बाध्य थिए । सडक निर्माणका क्रममा लापरवाही भएको कारण आफूहरूले सास्ती पाएको यात्रुको गुनासो छ।मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि पहिरो खस्यो