पत्थरी निकाल्न जाँदा मनमोहन अस्पतालले बिरामीको मृगौला नै चोर्‍यो

मनमोहन अस्पतालमा मृगौला ‘चोरिए’पछि शिवप्रसाद रिमालको जिन्दगीमा नयाँ मोड आएको छ । उनी पत्थरीका बिरामी थिए तर उनको उपचार गर्दा अस्पतालले मृगौला नै निकाल्यो । प्रकरण गोप्य राख्न खोजियो, पीडितसँग सम्झौता गरियो तर यो विषय मिडिया र सोसल मिडियामा आजसम्म बहसमा छ । अस्पतालले विज्ञप्ती जारी गरेर परिवारकै सहमतिमा मृगौला निकालिएको दाबी गरेको छ । अस्पतालले मृगौला आफैसँग सुरक्षित रहेको पनि बताएको छ । तर पीडित शिवप्रसाद रिमालको मनमा अहिले सय थरी कुरा खेलेका छन् । न्यायका लागि अदालत जाने सोचमा पनि छन् । आखिरी यो घटना भयो कसरी ? रातोपाटीले रिमाललाई भेटेर जान्ने कोशिस गरेको छ । रिमालकै शब्दमा पढ्नुस् उनको कथा :

मेरो घर नुवाकोटको विदुर नगरपालिकाको १२ नं. वडा पोखरीथोक हो । जेठ २२ गते म घरबाट काठमाडौँ आएको थिएँ । बिहान करिब ९ बजेतिर कलङ्की पुगेको थिएँ । कलङ्कीमा आफन्तकोमा खाना खाएर बसेको थिएँ ।

एक्कासि मेरो बायाँ कोखा दुख्यो । सहन नसक्ने गरी दुख्यो र मेरा आफन्तलाई दुखाइ सहन नसक्ने भएँ अस्पताल जाउ भने । उहाँहरूले ट्याक्सी बोलाएर ल्याउनुभयो र हामी ट्याक्सी चढेर मनमोहन अस्पताल पुग्यौँ । अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएँ । त्यहाँ मेरो उपचार सुरु भयो । इन्जेक्सन लगाइयो, औषधि खुवाइयो । मलाई विस्तारै ठीक भयो । करिब एक दुई घण्टापछि दुखाइ कम भयो ।

दुखाइ कम भएपछि भक्तपुरमा बस्नुभएका मेरो दाइ दामोदर रिमाललाई फोन गरेँ । उहाँ मेरा आफ्नै दाइ हुनुहुन्छ । उनलाई म अस्पतालमा भर्ना भएको सबै कुरा भनँे । उहाँ बेलुका अस्पताल आउनुभयो । उहाँ आउँदासम्म चेकजाँच भइरहेको थियो ।

दाइ आएपछि अस्पतालमा नै बस्नुभयो । त्यो दिन त्यति नै भयो । मेरो दुखाइ कम भयो । तर रगत चेक, पिसाब चेक भयो । म पनि सामान्य भइसकेको थिएँ ।  राति मलाई इमर्जेन्सीबाट वार्डमा पठायो । मेरो आफन्तलाई औषधि किन्न लगाए । औषधिले दुखाइ कम भयो ।

दोस्रो दिन मेरो सबै रिपोर्ट आए । यतिसम्म मेरा अन्य आफन्तहरू पनि आइसक्नु भएको थियो । मेरो एक्सरे गर्यो । अल्ट्रासाउन्ड पनि गर्यो । मेरो रिपोर्ट हेरेर डाक्टरले मृगौलामा पत्थरी रहेछ । अप्रेसन गर्नुपर्छ भन्नु भयो । पत्थरी ठूलो छ भन्नुभयो ।

  २३ गते मलाई लाजिम्पाटको एउटा अस्पतालमा सिटीस्क्यान गर्न पठाए । मैलाई  त्यो अस्पतालको नाम थाह छैन । मनमोहन मेमोरियल अस्पतालको एम्बुलेन्समा त्यो अस्पताल गएर सिटीस्क्यान गराए । त्यही एम्बुलेन्समा फिर्ता आएँ । त्यसको भाडा रु ८ सय लियो । अस्पतालले रिपोर्ट भोलि आउँछ भन्यो ।

२४ गते गएर मेरो घरका मान्छेले त्यो अस्पतालबाट सिटीस्क्यानको रिपोर्ट ल्याए । यताका डाक्टरले सबै रिपोर्ट हेरे । भोलि अर्थात २५ गते अप्रेसन गर्नुपर्छ भन्यो ।

२५ गते बिहान मलाई करिब साढे ८ बजे अप्रेसनका लागि वेइटिङ रुममा लिएर जानुभयो । ११ बजेर २५ मिनेटमा मलाई अप्रेसन थियटरमा लगेर सुताइयो । मलाई इन्जेक्सन लगाएपछि बेहोस भएँ । त्यसपछि मलाई केही थाह भएन ।

अप्रेसन गरेको राति अलिकति होस आयो । मान्छे अलिअलि चिन्थेँ । तर बोल्न चाहिँ ५ दिनपछि सकेको हुँ । मेरा आफन्तलाई त्यही दिन एक जना नर्स आएर भनिछन्, तपार्इंको बिमारीको मृगौलाबाट धेरै रगत बग्दै छ । मृगौला निकाल्नुपर्ने हुनसक्छ भनिछन् । तर मेरा आफन्तले सामान्य पत्थरीको अप्रेसन गर्न आएको बिमारीको मृगौला किन फाल्नुपर्यो भनेर प्रतिवाद गर्नुभएछ ।

मेरो मान्छेले  निकाल्ने कुराको धेरै विरोध गरेपछि डा. गुणराज श्रेष्ठ आएर बिमारीको मृगौलाबाट रगत धेरै बगेको छ, निकाल्नुपर्छ भनेछन् । मेरा आफन्तले उनको भनाइको पनि प्रतिवाद गरे । मेरो काका र भिनाजुले आफूहरू अप्रेसन कक्षमा जान्छौँ भन्नुभयो । काकालाई भित्र त लग्यो तर मलाई राखेको ठाउँमा होइन । अर्को कोठामा राखे छन् । मलाई हेर्न दिइएन । मलाई हेर्न नदिएर काकालाई बाहिर ल्याइयो ।

यो मनमोहन मेमोरियल अस्पतालले मेरो मृगौला पहिले नै निकालेर अनि पछि मेरा आफन्तलाई रगत धेरै बग्दै छ, निकाल्नुपर्ने हुन सक्छ भनेको रहेछ । मलाई जब वार्डमा लगियो त्यसपछि मात्र मेरो आफन्तले मलाई भेट्न पाए । यो सबै कुरा हेर्दा अस्पतालले मसँग बेइमानी गर्यो । मेरो जीवन बर्बाद गर्यो । २ सीएमको पत्थरी निकाल्दा मेरो जीवन नै ध्वस्त बनायो । यस्तो कहीँ कतै हुँदैन । तर मेरो आफन्तले अस्पतालको लापरवाही गैरजिम्मेवारीको विरोध गर्दा तपाईंहरूको माग के हो लेखेर दिनु भन्यो । अस्पताल प्रशासनले गल्ती भयो, अब तपाईं के चाहनु हुन्छ भने छ । मेरो मान्छेहरूले केही माग राख्नुभयो । ५० लाखको जीवन बिमा हुनुपर्छ भन्दा अस्पतालले मानेन ।

म अप्रेसन गरेपछि अस्पतालमा १२ दिन बसेँ । असार ५ गते बिदा दियो । यो अवधिमा मेरो हेरचाह धेरै राम्रोसँग गर्यो । अस्पतालबाट बिदा गर्ने दिन डाक्टरले भने तपाईंको भित्र भएका सडेगलेका चिज फालिदिएका छौँ । राम्रो ख्याल गर्नु होला । ठीक छ । सामान्य जीवन बाच्न सक्नु हुन्छ भन्यो ।

अप्रेसन भएको १५ दिनपछि मेरो दाइ र बहिनीले हामीलाई दबाबमा राखेर अस्पतालसँग सम्झौता गरेका छाँै भन्यो । मैले त्यो सम्झौता हेरेँ । त्यसमा मेरो चित्त बुझेन । म अस्पताल गएँ १४ गते । मैले भने यो सम्झौता मलाई मन परेन । मलाई क्षतिपूर्ति ५० लाख चाहिन्छ भने ।

मेरो जीवन बर्बाद गर्ने अस्पतालले मेरी श्रीमतीलाई जागिरमा राख्छौँ भनेको नै मलाई विश्वास छैन । मलाई जागिर लगाउँछौ भनेको पनि विश्वास छैन । किन कि यति बेइमानी गर्ने अस्पतालले मेरो श्रीमतीलाई जागिर दिएको एक दुई महिनामा चोरीको आरोप अरू केही आरोप लगाए त झन पीडा हुन्छ । समाजमा बदनाम हुन्छौँ । आजसम्म कसैको केही नबिगारका हामीलाई भोलि अस्पतालबाट केही चोरे लियो भनिदिए के हुन्छ मेरो ? त्यसकारण मलाई यो जागिरप्रति कुनै विश्वास छैन । मृगौला बिमारीलाई नसोधेर निकाल्ने अस्पताले यस्तो नगर्ला भन्ने विश्वास कसरी गर्नु मैले ।

अस्पताल प्रशासनले मिटिङ बसेर यस विषयमा छलफल गर्छौं भन्यो । पटक पटक फोन गर्दा पनि केही रेस्पोन्स गरेन । अस्पताल र अस्पताल सञ्चालकहरूले मेरो जीवन बर्बाद पार्दा पनि कुनै जिम्मेवारी देखाएन । यतिका दिनसम्म अध्यक्ष बाहिर जानुभएको छ, व्यस्त हुनुहुन्छ । राजधानी बाहिर हुनुहुन्छ । आएपछि छलफल गर्छौं भन्नुभयो । एक दिन मैले अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डेलाई फोन गरेँ । जो एमालेका नेता र सांसद पनि हुन् । सुरुमा मलाई तीन दिनको समय दिनुहोस् भन्नुभयो ।  तर तीन दिन होइन, तीन हप्ता हुँदासम्म पनि कुनै चासो देखाउनु भएन । उनले तपाईंको बारेमा कुरा भएको छ । म बाहिर छु, आएपछि छलफल हुन्छ भन्नुभयो । तर अहिलेसम्म केही भएन ।

बीचमा मेरी श्रीमतीले नवराज रुपाखेतीलाई फोन गरिन् । उनले पनि पुरानै कुरा दोहोर्याउनु भयो । सर बाहिर हुनुहुन्छ, आएपछि हुन्छ ।

म अति भएपछि पुनः अस्पताल गए । त्यो दिन भन्यो, आइतबार बस्दैछौँ । तर पनि भएन । अन्तिमा बाध्यभएर मिडियामा जानुपर्यो । अस्पतालले यति दुःख दियो कि के भनँु । मेरै जीवन बर्बाद पार्यो । अहिले अस्पताल प्रशासन मलाई मिडियामा गएपछि अब पहिला भएका सम्झौता पनि कार्यान्वयन हँुदैन भन्दै छ ।

आज अस्पताल आफैले गरेको सम्झौता पनि मान्दैन भन्दै छ । मेरो जीवन बर्बाद गरिदियो र पनि अस्पताल जिम्मेवार हुनुभन्दा बिरामीमाथि मानसिक रूपमा दबाब दिने काम गरिरहेको छ ।

म अस्पताल गएको दिनदेखि अप्रेसन हुने दिनसम्म मेरो चेक जाँच गरेको छ । एक्सरे, सिटीस्क्यान गर्दा मेरा सडेको गलेका अङ्गहरू रिपोर्टमा देखिनुपर्ने हो । यदि त्यस्तो थियो भने डाक्टरले किन भनेन । अहिले आएर सडेको गलेको चीज निकालेर फाल्यौँ भन्दै छन् ।

यतिधेरै चेकजाँच गर्दा पनि  बिग्रेको देखिँदैन र ? देखिन्छ भने अप्रेसन गर्नुभन्दा पहिला किन भनिएन । होइन भने पत्थरी निकाल्दा कसरी मेरो  सड्यो ?

अस्पताल यति गैरजिम्मेवार हुन मिल्छ । जब कि मलाई पत्थरी ठूलो छ भनिएको थियो । तर अप्रेसन गर्दा किन सावधानी अपनाइएन । कि मेरो मृगौला अन्य प्रयोजनका लागि नियोजित रूपमा निकालिएको हो । रगत बगेर मेरो मृगौला निकालिएको हुँदै होइन । बिग्रेको थियो भने पहिला नै किन भनेन ।

हामी पछि अस्पतालमा गएपछि तपाईंको मृगौला यही अस्पतालमा छ भन्यो । तर पत्थरी ल्याएर अस्पतालले दियो । तर  देखाउनु भन्दा पनि ५ दिनपछि ल्याएर देखाए । त्यो पनि हो कि होइन, हामी कसैलाई थाह छैन । यो कतिसम्म लापरबाही हो ।

यो देशमा राज्य, नियम कानुन छ भने ममाथि न्याय हुनुपर्छ । यो कुरा अब सबैलाई थाह भइसक्यो । म अन्यायमा परेको छु । मेरो माग राज्यले पूरा गराई दिनुपर्छ । मेरो जीवनमाथि खेलबाड गर्नेमाथि कानुनी कारवाही होस् ।

म चार वर्ष विदेश बसेर आएको हुँ । गत वर्ष बुवा बित्दा घर आएको थिएँ । त्यसपछि अब विदेश होइन, यो देशमा नै गरेर खान्छु भनेर बसेँ । तर मनमोहन अस्पतालले न गरिखान सक्ने बनाइ दियो न मारी नै दियो । म माथि आश्रित मेरो परिवारको अब के हुन्छ । रात दिन यही सोच्छु । खेती र अन्य केही गरेर खाउँला भन्ने थियो । दुई छोरा, श्रीमती र आमा, दुई बहिनी छन् । अहिले पढ्दै छन् । दाइ अलग्गै भक्तपुर बस्नु हुन्छ । मेरो जीवनसंगै मेरा घरपरिवाको जीवन पनि बर्बाद बनायो अस्पतालले ।

मेरो कुराको सुनावाइ अस्पतालले अझै पनि सही तरिकाले गरेन भने अन्तिम आस न्यायालयमा छ । म अदालत जान्छु, मलाई विश्वास छ, अदालतले मलाई न्याय दिने छ ।

मेरो बिग्रेको भए अस्पतालले किन मेरो उपचारको पैसा लिएन । मेरो मृगौला सडेगलेको भए निकाल्न त पैसा लाग्थ्यो होला नि । तर मेरो पत्थरीको अप्रेसन गर्न लागेको ८७ हजार पनि लिएन । यो भनेको अस्पतालको नियत नै ठीक थिएन र छैन । अस्पतालमाथि कारवाही होस र मैले न्याय पाउँ । मेरो अबको इच्छा यही हो । कृष्ण गिरीसँगको कुराकानीमा आधारित