उमेरले पाँच दसक कटिसकेका रजमानले जब आफ्नो जोडीलाई ‘राजारानीको जस्तै’ भनी तुलना गरे

उमेरले पाँच दसक कटिसकेका रजमान परियारको जोडीले  राजारानी देखेका छैनन् । तर आफ्नो जोडी ‘राजारानीको जस्तै’ भनी तुलना गर्छन् । उनले राजारानीको जस्तो गहिरो माया कसैको हुँदैन भन्ने सुनेका छन् । राजनीति थाहा नभएपनि पञ्चायत र बहुदलीय व्यवस्था देखेका छन् । मुलुक राजसंस्थाको अन्त्य भएर लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा उनी भने जिउने पेशामा मागेर खानुबाहेक अर्को बाटो देख्दैनन् ।

गत वर्ष वैशाख पहिलो साता उदिपुर र दोस्रो साता बेंसीसहर वरिपरि देखिएका उनी अहिले बेंसीसहर बजारका सडकमा छन् । उनी पत्नीका साथ दमौली (तनहुँ सदरमुकाम)–चामे (मनाङ सदरमुकाम) हिँडेरै ओहोरदोहोर गरिरहन्छन् । दमौली–डुम्रेको १६, डुम्रे–बेंसीसहर ४२ र बेंसीसहर–चामे ६५ गरि १ सय २३ किमि सडक उनी हिँडेरै पार गर्छन् । यही दुरी एकतर्फी पार गर्न उनलाई सरदर डेढ महिना लाग्छ ।

रजमानको खास घर मस्र्याङी गाउँपालिका ९, सिम्पानी पामचोक हो । १२ बर्षअघि बाटोमै फूलमायालाई भेटेपछि उनले सँगै राखेका हुन् । पर्यटकको भारी बोक्दै मनाङ गएर फर्कँदा उत्तरी लमजुङको च्याम्चेमा भेटपछि उनले फूलमायालाई ल्याएको उनले बताए । उनी मुरली बजाउँछन्, फुलमाया नाच्छिन् । नाच्दानाच्दै उनी पतिको अँगालोमा बेरिन्छिन् । ‘नाच्दानाच्दै मलाई चुप्प खान आउँछे । म पनि धेरै माया गर्छु’ उनले भने, ‘हामी राजारानी जस्तै, हाम्रो माया त राजारानीको जस्तै ।’ नाच्दै संकलन भएको पैसाले साँझबिहान र खाजाको जोहो गर्छन् ।

एक वर्षयता यी जोडीलाई मदिराको लतले भेटेको छ । फुलमाया बोल्दिनन् । स्थानीयका अनुसार गत वर्षसम्म हाँसीखुसी देखिएका यी दम्पती हिजोआज विरामीजस्ता देखिन्छन् । गास र बास जंगलमै हुने गरेको छ । दिनभरि मागेर जहाँ पुग्छ त्यहीं आगो बाल्दै पकाएर खान्छन् । खाना पकाउने डेक्ची, तरकारी पकाउने ताप्के, डाडु, पन्यु र थाल पनि साथमा छ । सकेसम्म रजमान फुलमायालाई पकाउने कामको दु:ख दिन चाहदैनन् ।