अरुका छोरा विदेशबाट आउँछन् तर धनबहादुरका छोराको अत्तोपत्तो नै छैन । दम्पती भन्छन ‘हामीलाई पैसा चाहिएको छैन छोरा फर्किए पुग्छ ।'

धनबहादुरका जेठा छोरा बालाराजले विदेश जाने सुर कस्दै गर्दा २०५६ सालतिर गाउँबाट औंलामा गन्न सकिने मान्छे मात्रै विदेश गएका थिए । विदेशको सपना देख्ने पनि धेरै थिएनन । ‘गाउँमा अरुका छोरा विदेश बाट आउँछन् । उसको त कुनै अत्तोपत्तो छैन’ धनबहादुर भट्राईले मनको बह पोख्नुभयो । विदेश गएकाहरु दुई तीन वर्षमा घर आउँछन, केही समय बस्छन् अनि जान्छन् तर बालाराज गएको १५ वर्ष भयो । एक पटक फर्किनुभएन । उहाँ १२ वर्षदेखि बेपत्ता हुनुहुन्छ ।

 त्यति बेला न विदेशको बारेमा बुझ्नुपर्छ भन्ने थाहा थियो न त बुझ्न जाने ठाउँ नै थियो । त्यसैले पठाउने व्यक्ति वा म्यानपावरले जे भन्यो त्यही पत्याउनुपर्ने अवस्था थियो । बालाराजलाई पनि त्यस्तै भयो । उहाँलाइ जाने व्यक्तिले जाने देश, त्यहाँ गर्नुपर्ने काम बारे जानकारी लिनुपर्छ, सीप नसिकी जानुहुँदैन भन्ने कुरा त थाहा थिएन नै परिवारले पनि विदेश जानेका बारेमा जानकारी लिइराख्नुपर्छ भन्ने ज्ञान थिएन । त्यसैले बालाराजलाई विदेश गएको छोराका बारेमा धेरै कुरा थाहा छैन । ‘फ्याक्ट्रीको काम भनेर लगेको थियो’ उहाँले भन्नुभयो । तीन वर्षपछि भने बालाराजले एकै पटक ३ लाख रुपैयाँ पठाउने भन्दै फोन गर्नुभयो ।

त्यतिबेला धनबहादुर मात्रै होइन आमा मायादेवीलाई पनि ढुक्क भयो । छोराले पैसा पठाउँछु भनेपछि बुवाआमा पैसा पठाउने खबर सुन्ने चाहनामा थिए । तर छोराको फोन आएन । दिन, हप्ता गर्दै महिना बित्दा पनि छोराको फोन नआएपछि उहाँको परिवार आत्तियो । २०५६ सालमा मलेसिया पुगेका बालाराजले घर फोन गरिररहनुहुन्थ्यो । तर काम र कमाइ राम्रो छैन भन्नुहुन्थ्यो । कमाई राम्रो नभएपछि घरमा पैसा पठाउने कुरै भएन । त्यसैले गएको तीन वर्षसम्म धनबहादुरले एक पैसा पठाउनुभएन । जाँदा लिएको ९० हजार रुपैयाँको साँवा ब्याज जस्ताको तस्तै थियो ।

धनबहादुरको परिवारले उहाँलाई खोजिदिन विदेश पठाउने म्यानपावर र एजेण्टलाई आग्रह गर्यो । उनीहरुले यहाँबाट पठाएको कम्पनीमा सम्पर्क त गरे तर पत्तो लाउन सकेनन् । बालाराज हराए पनि उहाँ जाँदा लिएको ऋण बढिरहेकै थियो । तर त्यो तिर्ने केही उपाय थिएन । त्यसैले उहाँले अर्को छोरालाई विदेश पठाएर बालाराजलाई पठाउँदा लिएको पैसाको साँवा ब्याज तिर्नुभएको छ । मलेसिया गएका बालाराजका भाइले पनि दाइ खोजि गर्नुभयो तर पत्तो लाउन सक्नुभएन ।

मलेसिया नै पुगेर खोज्दा पनि नभेटिएको बालाराजको परिवारले सूचना केन्द्र बारे जानकारी पाएपछि त्यहाँबाट पहल गर्दा पो हुन्छ कि भन्ने आशा बाँकी नै थियो । त्यसैले पाँच वर्ष अघि धनबहादुरको परिवार सूचना केन्द्रमा गयो । केन्द्रले पहल गर्दा पनि केही पत्तो लाउन सकेन । फोटो बाहेक अरु कुनै कागजपत्र नभएकाले खोज्दा पनि नभेटिएको सूचना केन्द्रले जनाएको छ । आफूले सकेसम्म खोज्दा पनि नभेटिएपछि परिवारका अरु सदस्यले आश मारेका छन् तर बुवा आमाको मन अझै मानेको छैन ।

धनबहादुर ६९ वर्षको पुग्नुभयो अनि आमा मायादेवी भट्राई ६७ वर्ष । एकातिर छोरा हराएको पीर त्यैं माथि बुढ्यौली । त्यसैले दुवै जनालाई रोगले पनि च्याप्दै लगेको छ । श्रीमतीलाई काठमाडौं लगेर उपचार गरिनसक्दै धनबहादुर पनि पेटको रोगले थलिएपछि अप्रेसन नै गर्नुपर्यो । त्यसैले छोरा फर्किने बाटो अहिले पनि हेरिरहेका छन् धनबहादुरका दम्पती ।  'हामीलाई पैसा चाहिएको छैन छोरा फर्किएर आइदिए हुन्छ ।’ दम्पती भन्छन