चिकित्सकले मृत्युको मिति घोषणा गरेका फिरु थारु मृत्युको मुखबाट फर्किए

गुलरिया नगरपालिका ८ निवासी ५७ बर्से फिरु थारु नयाँ जीवन पाएर हर्षविभोर हुनुहुन्छ । चिकित्सकले मृत्युको मिति घोषणा गरेका उनले नयाँ जीवन पाएका छन । गरिबी र विपन्नताका कारण हर्नियाको उपचार गर्न नसक्नुभएका थारुको आन्द्रा कुहिएपछि एक साताभन्दा बढी नबाँच्ने चिकित्सकले बताएका थिए ।  तर जिल्ला अस्पताल बर्दियाका डा. विनय उपाध्यायले जोखिम मोलेर उहाँको गरेको शल्यक्रिया सफल भएपछि थारु मृत्युको मुखबाट फर्किनु भएको छ ।

‘फिरुको शल्यक्रिया जटिल थियो । आर्थिक अवस्था दयनीय भएकाले मैले जोखिम उठाएरै भए पनि निःशुल्क शल्यक्रिया गरेको हुँ', जिल्ला अस्पताल बर्दियाका सर्जन विजय उपाध्यायले भन्नुभयो, ‘अस्पतालमा प्रविधि र प्राविधिक दुवैको कमी थियो । तर पनि उहाँलाई बचाउने सम्भावना थोरै भएकाले तत्काल शल्यक्रिया गरिएको हो ।'

‘मसँग उपचारका लागि एक पैसा पनि थिएन । तर डाक्टरसाबले अप्रेसन गरेर मलाई बचाउनु भयो', थारुले डा. उपाध्यायलाई देखाउँदै भन्नुभयो, ‘मलाई सञ्चो भयो । उहाँ नै मेरो भगवान हो, जसले मलाई नयाँ जीवन दिनुभयो ।' २० वर्षदेखि हर्नियाको दुःखाइ सहेर बस्नुभएका फिरु विपन्न आर्थिक स्थितिका कारण उपचार गर्न नसकेको बताउनु हुन्छ ।

विपन्न बिरामी अन्यत्र रेफर गर्दा उपचार गराउन नसक्ने र नगर्दा नबाँच्ने कठिन अवस्था भएपछि जिल्ला अस्पताल बर्दियामै जोखिम उठाएर फिरुको शल्यक्रिया गरिएको  डा. उपाध्यायले बताउनुभयो । ‘बिजुली नहुँदा मोबाइलको टर्च बालेर शल्यक्रिया गर्‍यौं', उपाध्यायले अस्पतालको अवस्था बताउनुभयो । जनस्वास्थ्य कार्यालय र अस्पताल छुट्टिएपछि बर्दियामा जिल्ला अस्पताल सुविधाविहीन स्थितिमा पुगेको हो । पछिल्लो समय अस्पताल प्रशासनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पहल गरिरहेको छ ।

२० वर्ष पुरानो हर्नियाका कारण फिरुको आन्द्रा ४० सेन्टिमिटर कुहिसकेको थियो । ‘आन्द्राको कुहिएको भाग काटेर आन्द्रा जोड्यौं । यस्ता बिरामी बिरलै हुन्छन्, जसको उपचार यसरी सफल हुन्छ', डा. उपाध्यायले भन्नुभयो । बर्दियामा हाइड्रोक्सिल र हर्नियाका बिरामीको संख्या बढ्दो छ । गत माघयता जिल्ला अस्पतालमा २ सय ८८ जना हाइड्रोक्सिलका बिरामीको निःशुल्क र सफलतापूर्वक शल्यक्रिया गरिएको उहाँले बताउनु भयो । ‘यसका साथै २२ जना हर्नियाका र ४ जना एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया गरेका छौं', उहाँले जानकारी दिनुभयो । विशेष गरी साइकल धेरै चलाउने, फाइलेरिया र अण्डकोषमा चोटपटक लाग्दा हाइड्रोक्सिलको समस्या आउने उहाँले प्रष्ट पार्नुभयो ।

बर्दिया जिल्ला अस्पतालमा आवश्यक न्यूनतम औजार र उपकरण भए पनि जनशक्ति थोरै भएकाले शल्यक्रिया गर्न कठिन हुने गरेको  उपाध्यायले बताउनु भयो । कम्तीमा पनि ६ जना चिकित्सक आवश्यक पर्ने भए पनि १ ,२ जनाले नै शल्यक्रिया गर्नु परेको उहाँले बताउनुभयो ।