जुम्लाका बालिकाको आँखामा लागेको सानो चोटको समयमै उपचार नहुँदा आँखाबाट मासु पलाएर क्यान्सर

जुम्ला : चार बर्षीया बालिका मन्सरा लुहार । कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ७ मा उहाँको घर छ । आँखामा लागेको सानो चोटको समयमै उपचार नहुँदा ती अबोध बालिकालाई मर्नु न बाँच्नुको अवस्थामा पुग्नु भएको छ । ६ महिना पहिले मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले क्यान्सरमा परिणत भएको हो । जिल्ला आखाँ उपचार केन्द्र कालिकोटका इन्चार्ज डबल अधिकारीका अनुसार अहिले उनको ज्यान बचाउने अन्तिम विकल्प भनेको आँखा काटेर फाल्नु मात्र हो । पाँच महिनाअघि बालिकालाई उपचारका लागि सदरमुकाममा ल्याउँदा स्वास्थ्यकर्मीले समस्या जटिल बनेकोले ठूलो ठाउँमा लगेर उपचार गर्न परिवारलाई सुझाएका थिए ।

‘सुरुमै उपचारमा ल्याउँदा नै मैले आँखा जटिल बनेको छ बाहिर उपचारका लागि लैजानुहोस् भनेको थिँए,’ जिल्ला आँखा उपचार केन्द्र कालिकोटका अधिकारीले भन्नुभयो,‘समयमै परिवारका सदस्यले ध्यान दिएनन् अब आँखा काट्नुको विकल्प छैन ।’ बिरामी छोरीको अवस्था नाजुक बन्दै गएपछि अहिले मनसराका बुबा रने लुहार अहिले उपचार खर्च जुटाउन हारगुहार गरिरहनु भएको छ । सदरमुकाम मान्ममा पुगेका लुहारले आफुसँग उपचार खर्च नभएको र छोरीको हालत दैनिक विग्रदै गएकोले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गर्नुभएको छ । आफु घरमा नभएका बेला छोरीलाई चोट लागेको र आमाले घरको काम बाहेक छोरीलाई ध्यान पु¥याउन नसक्दा अहिले क्यान्सरमा परिणत हुन पुगेको बुबा रने लुहारले बताउनुभयो ।

बालिकाको आँखा भित्रबाट ट्युमर पलाउँदै गएपछि उपचारमा समस्या भएको छ । चिकित्सकले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्न सिफारिस गरेपनि आर्थिक अभावले लैजान सक्नु भएन । ती बालिकाको उपचारका लागि अहिले सदरमुकाम मान्मामा सरोकार व्यक्त गरिएको छ । उपचारका लागि जिल्लामा रहका सरोकारवालाले सानिमा बैंक कालिकोटमा सहयोग खर्च जुटाउन खाता खोलिदिएका छन् । बालिकाको नाममा ०४४००००००१०० को खाता खोलेर काठमाण्डौं पठाइएको छ ।

देश तथा विदेशमा रहेका नेपाली तथा दातृनिकायहरुलाई ती बालिकाको ज्यान जोगाउनका लागि आर्थिक सहयोग गरिदिन आग्रह समेत गरिएको छ । बालिकाको थप उपचारका लागि फुकोट कै स्थानीय कालिबहादुर महतारालाई जिम्मेवारी दिइएकाले विस्तृत जानकारीका लागि सम्पर्क नं. ९८४८३०७१७३ मा सम्पर्क गर्न पनि सबैलाई आग्रह गरिएको छ । महताराका अनुसार ती बालिकालाई थप उपचारको लागि सोमबार काठमाडौं लैजान कालिकोटबाट सुर्खेततर्फ लगिएको छ ।