१८ वर्षमा विबाह, २३ वर्षमा विधुवा घर परिवार र समाजको दृष्टिकोणका कारण बेल्चा चलाउन बाध्य रेखा

नवलपरासीको गैंडाकोट–१५ अमरापुरीकी २६ वर्षीय रेखा गुरुङ हेर्दा सानी छिन । हातमा बेल्चा छ तर हेर्दा लाग्छ उनलाई बेल्चा चलाउन निक्कै गाह्रो भइरहेको छ । दिउँसोको चर्को घाममा । भरतपुर महानगरपालिकाको कृष्णपुरमा रहेको एउटा ब्लक उद्योगमा काम गर्छिन् ।

एक छोराकी आमा रेखाको अहिलेको परिचय एकल महिला ।उनका श्रीमानको वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसियामा ज्यान गएको हो ।  त्यति बेला उनी २३ वर्षकी मात्रै थिइन् । उनले आठ वर्षअघि १८ वर्षको हुँदा प्रेम विवाह गरेकी थिइन् । तर घर चलाउन समस्या भएपछि रेखाका श्रीमान दुबई जानुभयो । तर उहाँको काम र तलब म्यानपावरले भनेजस्तो भएन । सम्झौताको भन्दा फरक परेपछि उहाँ एक महिनामै फर्किनुभयो ।त्यसपछि उहाँ मलेसिया जानुभयो ।

दुबईबाट फर्किंदासम्म राम्रै रहेको उनीहरुबिचको सम्बन्ध मलेसिया गएपछि भने चिसिन थाल्यो । के कारण त्यस्तो भयो रेखालाई अहिले पनि पत्तो छैन । मलेसिया गएका श्रीमान वास्ता गर्न छोडे । श्रीमानको पठाएको पैसा उहाँले देख्न पाउनुभएन । उहाँले भन्नुभयो ‘श्रीमान विदेश गएपछि एकसरो लुगा लगाउन पाईन् ।’ पठाई हाले पनि रेखको हातमा पर्दैनथ्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले परिवारबाट आशा गर्ने ठाउँ थिएन ।

 श्रीमानले कहिलेकाहिँ फोन गर्दा गाली गर्थे त्यसैले व्यक्तिगत खर्चका लागि मेलापात गर्नुहुन्थ्यो रेखाले । त्यही बेला दाउरा लिन जङगल गएका बेला लडेर खुट्टा भाँचियो । तर त्यति न श्रीमानको फोन आयो न त उपचार गराउनु भनेर एक पैसा नै । त्यति साह्रै मन रोएको थियो रे रेखाको ।

तर भविष्यमा त्यो भन्दा ठूलो चोट आइपुग्ला भन्ने रेखालाई के थाहा । २०७२ सालमा श्रीमानको मलेसियामा ज्यान गयो । श्रीमानका साथीहरुले उनको सुतेकै ठाउँमा ज्यान गएको भने । त्यो रेखाका लागि पत्याउनै नसकिने सत्य थियो । किनकी श्रीमानले वास्ता नगर्दा नगर्दै कहिल्यै नफर्किने गरी छोडेर गए । श्रीमानको जाँदा लिएको ऋण पनि तिर्न नपाउँदै ज्यान गयो ।


१४ दिनपछि शव नेपाल आउँदा त्यहाँका केही दिन रोएरै बिते । शवसँगै साथीहरुले ७२ हजार उठाएर पठाएका रहेछन् । त्यही पैसाले किरिया गर्नुभयो । छोरासँगै आफ्ना आवश्यकता पूरा गर्नु त थियो नै श्रीमानले विदेश जाँदा लिएको ऋण पनि तिर्नुपर्ने भयो रेखाले । श्रीमानको निधनपछि रेखाले कावासोतीम रहेको सूचना केन्द्रको सहयोगमा मलेसियाको कम्पनीबाट ६ लाख रुपैयाँ र बीमा बापतको १० लाख रुपैयाँ पाउनुभयो ।

 आएको पैसाले श्रीमानले लिएको ऋण र त्यसको ब्याज तिर्नुभयो । बचेको पैसा ब्याजमा लगाएकी छन् । श्रीमानको अभाव त छँदै थियो । परिवारसँगको सम्बन्ध पनि बिस्तारै बिग्रिँदै गयो रेखाको । त्यसैले उहाँ अहिले दिदीको घरमा बस्नुहुन्छ । छोराको पढाइमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले सहयोग गरेका छ । अनि सूचना केन्द्रले वैदेशिक रोजगार छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन पनि दिएको छ ।


अहिले उनि उद्योगबाट महिनाको १५ हजार रुपैयाँ कमाउँ छिन् । धेरै काम गरेका बेला कुनै महिना त ३० हजारसम्म पुग्छ उहाँको कमाई । अनि ब्याजमा लागाएको पैसाबाट मासिक १० हजार रुपैयाँ आउँछ । सोही ‘भोलिको बाटो के हो थाहा छैन तर हिम्मत चाहिँ हार्दिन’ रेखाले भनिन् ।   ‘बाबुको भविष्य पनि हेर्नुपर्‍यो त्यसैले दुःख गर्न थालेकी हुँ तर श्रीमान नभएपछि घर परिवार र समाजले हेर्ने दृष्टिकोण फरक पर्ने रहेछ’ उहाँले भन्नुभयो ‘त्यहि भएर पनि घर बाहिर बसेर काम गर्दैछु । आफ्नो दुःख आफैसँग छ गुम्साएर बसेकी छु ।’