एक किलो धागो बनाएबापत १ सय ५०

कोहलपुर नगरपालिका १ कौशिलानगरका अधिकांश दलित महिला वर्षौंदेखि धागो कातेर जीविकोपार्जन गर्दै आएका छन् । गाउँमा विभिन्न संघसंस्थाले सीपमूलक तालिम चलाए पनि यी महिला परम्परागत पेसालाई नै अँगाल्दै आएका छन् । ती संस्थाले चलाएका तरकारी खेती, हस्तकला, सिलाइकटाइ, पशुपालनलगायत तालिम लिए पनि व्यावसायिक बन्न नसक्दा परम्परागत पेसालाई निरन्तरता दिँदै आएको स्थानीयले बताए ।

स्थानीय शोभा विकले तरकारी खेती र सिलाइकटाइको तालिम लिए पनि भेडाको ऊन कात्ने पेसालाई निरन्तरता दिएको बताइन् । ‘हाम्रो कार्यक्रम यही हो भन्दै अन्य तालिम लिएर संघसंस्था आउँछन् । एक वर्षअघि मैले पनि सिलाइकटाइ तालिम लिएँ तर केही काम लागेन,’ उनले भनिन्, ‘जुनसुकै संस्था आउँदा पनि नयाँ तालिम लिएर आउँछन् तर व्यवहारमा प्रयोग हुँदैन । मेसिन सहयोग गरभन्दा सबैले हाम्रो कार्यक्रम छैन भन्दै टार्छन् ।’ जति धेरै मिहिनेत गरे पनि दिनमा एक किलोभन्दा बढी धागो कात्न नसक्ने उनको भनाइ छ । मेसिन भए दिनमा पाँच किलोसम्म कात्न सकिने र आम्दानी पनि राम्रो हुने उनको भनाइ छ ।

गाउँमा कार्यक्रम लागू भएका अधिकांश सरकारी र गैरसरकारी संस्थालाई उनीहरूले उपकरणमा सहयोग गर्न आग्रह गरे पनि बेवास्ता भएपछि पुस्तौंदेखिको परम्परागत विधिबाट धागो बनाउन बाध्य छन् । गत वर्ष घरेलु तथा साना उद्योग कार्यालयबाट थारू हस्तकलामा आधारित ढकिया बुनाई तालिम पाए पनि उनीहरू अहिले पुरानै पेसामा फर्किएका हुन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालन गर्न समस्या भएको उनीहरू बताउँछन् । अन्य सीपमूलक तालिम बर्सेनि सञ्चालन गरिए पनि प्रभावकारी नभएको दलित महिलाको गुनासो छ ।  एक किलो धागो बनाएबापत १ सय ५० पाउँछन ।

महिलाले बनाएको धागो कपडा उद्योगमा बिक्री हुन्छ । शोभाका अनुसार महिलाले धागो बनाउन थालेको एक दशकभन्दा बढी भयो । अधिकांश पुरुष विदेश गएकाले यहाँका महिलाले यसैलाई पेसा बनाएर जीविकोपार्जन गरिरहेको उनको भनाइ छ । काठमाडौंका व्यापारीले भेडाको ऊन गाउँसम्मै पुर्‍याउने गरेका छन् । एकपटकमा २० क्विन्टल ऊन गाउँमा आउने गरेको कौशिलानगरकी रत्नमोती परियारले बताइन् । व्यापारीले घरमै ल्याइदिने र लैजाने गर्दा झन्झटिलो नभए पनि पारिश्रमिक एकदमै कम पाउने गरेको उनी बताउँछिन् ।

‘पारिश्रमिक एकदमै थोरै पाए पनि भएकाले समस्या छ । मेसिन भए आम्दानी राम्रो हुन्थ्यो र घरव्यवहार पनि सजिलैसँग चल्थ्यो,’ उनले भनिन्, ‘गाउँका अधिकांश पुरुष विदेशमा छन् । यहाँ भएकाको पनि रोजगारीमा नहुँदा महिलाले नै घरव्यवहार धान्नुपरेको छ ।’ घरको काम सक्नासाथ ऊनको धागो बनाउने गरेको उनले बताइन् ।

बाँकेको महादेवपुरी, चिसापानी, नौबस्ता, वनकटवा, कचनापुरमा पनि काठमाडौंका व्यापारीले भेडाको ऊन पुर्‍याउने गरेका छन् । सस्तो पारिश्रमिक दिएर धागो कात्न पाइने भएपछि व्यापारी यहाँ आकर्षित भएका हुन् । व्यापारीले वर्षमा तीनपटक भेडाको ऊन ल्याएर यहाँका गाउँमा छोड्ने गरेका छन् ।