मानसिक सन्तुलन गुमाएकी जुनाले सडकमै बच्चा जन्माएपछि

धुर्कोट गाउँपालिका–५ धुर्कोट बस्तुकी २२ वर्र्षीया जुना बिकले गएको वैशाख १२ गते गुल्मीमा मानसिक सन्तुलन गुमाएकी जुनाले बच्चा जन्माएपछि अहिले शिशुको पालन पोषणमा समस्या परेको छ । उनले छोरा जन्माएकी हुन् । शिशुका  पिता अर्थात जुनाका पतिको अझै पत्ता लागेको छैन ।

 जुनाले सडकमै छोरा जन्माएकी हुन । सुत्केरी जुनालाई गाउँमै चन्दा संकलन गरेर उपचारका लागि रुपन्देहीको चौतारी फाउण्डेशनमा पठाइएको छ । उनको अहिले चौतारी फाउण्डेशनमा उपचार भइरहेको छ ।आर्थिक अवस्था कमजोर र घरमा समेत सहयोग गर्ने अर्को कोही नभएपछि छोरीको उपचार खर्च र नातीलाई आवश्यक पर्ने दूध र पोषिलो खानाका लागि ६२ वर्र्षीया अजुरआमा मनि बिक तम्घास बजारमा १ महिनाको शिशु बोकेर सहयोग माग्दै हिँडिरहनु भएको छ ।

शिशुको नियमित रेखदेख, पोषण युक्त खानाको अभावसँगै पालन पोषणमा पनि समस्या भएको छ । आर्थिक अभावकै कारण १ महिनाको शिशुले बजारमा किनेको भैँसीको दूध बाहेक अन्य केही खान पाएका छैनन् । ‘यो बच्चा सारै सानो छ, यसलाई कसरी बचाउने होला, मसँग यो बच्चालाई दूध किनेर खुवाउने पैसा समेत छैन्,’ उहाले भन्नुभयो ।  

एक महिने शिशु बृद्ध महिलाले बोकेर सहयोग खोज्दै हिँडेको फेला पारेपछि तम्घासका युवा कृष्ण आचार्यले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना कहाँ पु¥याउनु भएको थियो । अहिले ती शिशुलाई प्रजिअ ढुंगाना र महिला तथा बालबालिका कार्यालयको सहयोगमा तम्घासकै महिला पुर्नस्थापना केन्द्रमा राखिएको छ ।