दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले इन्टरनेट सेवामा प्रतिबन्ध लगायो

असार ८, २०७४- दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले दार्जिलिङमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । र  टीभी च्यानलहरूको प्रसारणमा पनि रोक लगाएको छ ।

इन्टरनेट सेवा रोकिएपछि पत्रकार तथा बुद्धिजीवी अगुवाले दार्जिलिङलाई कश्मीर बनाइएको प्रतिक्रिया दिएका छन् । सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘भारतको कश्मीरपछि दार्जिलिङ दोस्रो इन्टरनेट सेवा प्रतिबन्ध क्षेत्र हो ।’ इन्टरनेट प्रतिबन्धपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।बंगाल सरकारले तीन दिनअघि नै इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो । मंगलबार प्रतिबन्ध थप लम्ब्याएको छ । दार्जिलिङका जिल्लापालले मंगलबार विज्ञप्ति जारी गरेर आगामी २७ जुनसम्म सेवा प्रतिबन्ध गरिएको जनाएका छन् । पत्रकार मनोज बोगटीले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएर भारतले विश्वकै ठूलो गणतान्त्रिक मुलुक हुनुको खिल्ली उडाएको बताए । द इन्डियन टेलिग्राफ एक्ट, १८८५ का आधारमा आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने बहानामा इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको जनाएको छ ।

 दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रमा मात्रै प्रतिबन्ध लगाइएको प्रशासनले जनाए पनि कालिम्पोङमा समेत इन्टरनेट नभएको पत्रकार बोगटीले जनाए । ‘इन्टरनेट नहुँदा समाचार सम्प्रेषणलगायत काम पूर्णरूपमा प्रभावित भएका छन्,’ उनले भने ।गोर्खा जनमुक्ति मोर्चाले राज्य सरकारले इन्टरनेट सेवाका साथै टीभी च्यानलमा लगाएको प्रतिबन्धले दार्जिलिङका जनताको मानवअधिकार हनन भएको भन्दै तत्काल सञ्चालन फुकुवा गर्न राज्य सरकारसँग अपिल गरेको छ ।