रातिको समयमा पहिरो खसेपछि मुग्लिन सडक बन्द

असार ७, २०७४- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।

 अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।त्रिभुवन राजपथको बागझोरामा बुधबार बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई ८:३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बुधबार बिहान २:३० बजे बाढीपहिरो आई उक्त राजपथको बागझोरामा हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । उक्त राजपथमा लामबद्ध रहेका सवारी साधनहरु दामन, पालुङ र कुलेखानी हुँदै काठमाडौँतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् । रासस    चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द