अकस्मात भएको आगलागीमा ८ घर जलेर नष्ट

असार ६, २०७४- सोरु गाउँपालिका ८ गिलाहा गाउँमा सोमबार भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन् । आगलागीमा सोही वडाका जयबहादुर शाही, कालीबहादुर बम, रन्कीकेशर रोकाया, शुकवीर रावल, कालिबहादुर रावल, गणेश शाहीलगायतको घर जलेको प्रहरीले जनाएको छ ।

 सोमबार दिउँसो अकस्मात भएको आगलागीमा मानवीय क्षति नभए पनि जलेका घरहरुमा रहेको अन्नपात तथा लत्ता कपडा जलेको स्थानीय बासिन्दा हस्तबहादुर थापाले बताए ।  आगलागी के कारणले भयो भन्ने अहिलेसम्म खुलेको छैन । प्रहरीले आगलागीको मुचुल्का उठाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।