डेढ वर्ष गाली खेपेर र पिटाई सहेर काम गरेको पाउँदार साहुले नदिँदा

 सिन्धुपाल्चोकको तातोपानीकी शान्ति घतानी घरकी कार्इंली छोरी हुनुहुन्छ । उहाँको परिवारमा एक जना भाइ, बुवाआमा गर्दा ८ जना हुनुहुन्छ । उहाँको  परिवारलाई खान लगाउन निकै धौ धौ पर्थ्याे । उहाँको स्कुलमा कहिल्यै पाइला परेनन । छरछिमेकका मानिसले विदेश गएर पैसा कमाएको देखेपछि उहाँलाई पनि उतै जाने रहर पलायो ।

भर्खर १८ वर्ष लागेकी शान्तिलाई विदेशमा गर्नुपर्ने काम र कमाइका बारेमा जानकारी थिएन । गाउँकै दलालले विदेशमा राम्रो काम पाइन्छ, कमाई पनि राम्रो हुन्छ भनेपछि विदेशको सपनाले उहाँको मन उड्न थाल्यो । तर दलालले धेरै कमाइन्छ, राम्रो लाउन खान पाइन्छ भनेर कान भरिदिएका थिए ।

त्यसैले उहाँले दलालले जसो भने उसै मान्नुभयो । ६५ हजार रुपैयाँ ऋण काढेर शान्ति घरेलु काममा युएई जानका लागि दिल्लीको बस चढ्नुभयो । दिल्लीमा १० दिन बसेपछि उहाँलाई युएई पुर्‍याइयो । पहिलोचोटि घर छाडेकी शान्तिलाई सारजहाँ विमानस्थल पुग्दा अनौठो लाग्यो । साँच्चै दलालले देखाएका सपना भन्दा राम्रो थियो विदेश । ‘जता हेर्‍यो ठूला घर, म त छक्क परें’ शान्तिले आफूले नियालेको विदेशको अनुभव सुनाउनु भयो ।

सारजहाँमै शान्तिले घरेलु कामदारको रुपमा काम गर्न थाल्नुभयो । शान्तिलाई सबै अनौठो लाग्थे । न त काम आउँथ्यो, न त भाषा । तर विस्तारै जान्न थाल्नुभयो । सुरुसुरुमा त उहाँलाई खुब रमाइलो लाग्थ्यो । शान्तिलाई घरको काम सहज थिएन् । बालबच्चा हेर्ने, घर सफा गर्ने, खाना पकाउने, भाँडा माझ्ने, आइरन लगाउने सबै उहाँले नै गर्नु पथ्र्यो । कामसँगै साहुसाहुनीका गाली झन गह्रौं थिए । आँशु झार्दै काम गर्नुहुन्थ्यो । ‘काम भन्दा धेरै गाली नै गर्थे, मलाई मात्र हैन मेरो परिवारलाई पनि कस्तो कस्तो भनेर गाली गर्ने, मलाई मात्र गाली गरे त हुन्थ्यो नि’ शान्तिले गहभरी आँशु पार्दै भन्नुभयो, ‘बेलाबेला त कुट्नलाई पनि झम्टन्थे ।’ आँखा बन्द गरेर ती गालीहरु सहनु बाहेका शान्तिका लागि केही विकल्प थिएन ।

उहाँसँग फोन पनि थिएन् । साहुलाई घरमा फोन गरिदिन दिनरात आग्रह गर्दा तीन चार महिनामा एकचोटी फोन लगाइदिन्थे । पाँच मिनेट भन्दा बोल्न दिदैन थिए । ‘बोल्न नपाएर उकुसमुकुस हुन्थ्यो, के छ भन्न नपाउदै फोन खोसिदिन्थ्यो । के बोल्नु?’ कालो मुख लगाउँदै उहाँले भन्नुभयो । मनका कुरा कसैसँग पनि पोख्न नपाउँदा शान्तिलाई छटपटी हुन्थ्यो । काममा गरेको दुःख शान्तिसित सानो छैन् । उहाँले दिनरात नभनेर काम गर्नुभयो । तर समयमा तलब पाउनु भएन ।

दुई वर्षसम्म बेला बेलामा साहुले पैसा दिन्थे । त्यसपछि तलब नै दिन छाडे । न त घरबिदामा पठाए । साढे एक वर्ष त उहाँले तलब बिना काम गर्नुभयो । साहुसँग दिनहुँ तलव मागेपनि आजभोली भन्दै टारी दिन्थे । आज देला भोली देला भन्दै उहाँका डेढ वर्ष बिते । तर तलव बिनै उहाँलाई नेपाल फर्कादियो । शान्तिलाई अरबीको घरमा भोगेका दुःख सम्झन मन लाग्दैन । तर डेढ वर्ष गाली खेपेर काम गरेको पाउँदार नपाउँदा उहाँको साह्रै चित्त दुखेको छ । दुईचार पैसा कमाउने आमाबुवाको खाचो टार्ने उहाँका सपना पूरा भएनन ।
घरमा पनि भरथेग गर्ने अनि आफ्नै भविष्य बनाउने सपना बोकेर परदेशिएकी शान्तिले विदेश जाँदा काढेको ६५ हजार ऋण पनि तिर्न सक्नु भएको छैन । पहिले पहिले पाएको तलब उहाँले भूकम्पका बेला घरमा सहयोग गर्नुभयो । तर ऋण तिर्नु भएको छैन । शान्तिलाई नेपाल पठाउने अघिल्लो दिन साहुले हवाइ टिकट हातमा दिए । तलव भने दिएन । त्यसैले उहाँ नेपालबाट जस्तो गएको त्यस्तै झोला बोकेर फर्कनुभयो । ‘मेरो तलब खोई भनेको, पछि पठाउँछु भन्थ्यो तर पठाएन’ शान्ति भन्नुहुन्छ, ‘म घर आएपछि पनि फोन गरेर मेरो तलब पठाइदेउ भनेको त तिमी आउ अनि मात्र पठाउँछु भन्यो ।’

शान्तिलाई कुन भिसामा युएई पुगें भन्ने थाहा छैन । उहाँसँग युएईको मिनिष्ट्रि अफ इन्टेरियरले जारी गरेको घरेलु कामदारको परिचय पत्र भने छ । त्यो बाहेक तलब नपाएको केही प्रमाण छैन । डेढ वर्ष रुँदै बगाएको पसिनाको माया मार्न सक्नु भएको छैन् । शान्ति गएको माघमा साढे तीन वर्ष युएई बसेर फर्कनुभयो । नेपाल फर्किएको दुई महिनासम्म पनि साहुले फोनमा तिमी आउ अनि तलब दिउँला भन्थे । तर हिजोआज उहाँले काम गर्ने साहु हाम्मद खाजको नम्बर ००२१२६६१८९३३९१, ००२१२६५३८४१०४१, ००१७१५०२६१७४९९ मा दिनमा धेरै पटक फोन गर्नुहुन्छ तर उठ्दैन । उताबाट पनि फोन आउँदैन ।

तलब दिलाइ दिन सहयोग माग्दै शान्ति ललितपुरको एकान्तकुनामा रहेको नेपाली प्रवासी एकता सञ्जालमा आउनु भएको छ । तलब पाए ऋण तिरेर सानो व्यवसाय गर्ने उहाँको सोच छ । उहाँको तलब दिलाउनको लागि सक्दो सहयोग र पहल गर्ने सञ्जालका जनसम्र्पक अधिकृत रमेश बैदावारले बताउनु भयो ।