‘आमाले नै बोक्सीको आरोपमा कुट्दा : न्यायको पर्खाइमा

महोत्तरी गाउँपालिका, डाम्हीमडैकी रामकलीदेवी पण्डितलाई  ‘बोक्सी’ भनेर गाउँ समाजकै अगाडि उनकी आमा कौशिलादेवीले यातना दिइन् । ०६९ असारमा छिमेकी मिठु मण्डलको मृत्यु भएपछि उनीमाथि बोक्सीको आरोप लागेको थियो । आरोप लगाउने र कुटपिट गर्नेमा सहोदर आमा नै  थिइन् ।

 दाई  बेचन, भाउजु हरू जितिनदेवी र गीताकुमारी सबै कुटपिटमा उत्रिए । परिवारकै सदस्य जाइलागेपछि गाउँलेले पनि हौसिएर आक्रमण गर्न थाले‘आमा’ शब्द उच्चारण गर्नेबित्तिकै उनका आवाज रोकिए, अनि गह आँशुले भरिए । ‘आमाले नै बोक्सीको आरोपमा कुट्दा अरूले के गर्छन् ?’ उनले आँशु पुछ्दै भनिन् ‘विवाहित छोरीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ ।’ तर, मुस्किलले एक सय मिटरको दूरीमा रहेको माइती रामकलीका लागि सदाका लागि बिरानो भएको छ । माइतीको दुःख दिने क्रम अझै रोकिएको छैन ।

रामकली र रामप्यारी मात्रै होइन, थुप्रै महिला बोक्सीको आरोपमा प्रताडित हुने गरेका छन् । नेपाल प्रहरीले ०६८ सालयता पाँच वर्षमा देशभरिका सात सय मुद्दा दायर गरेको छ । ललितपुर, मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला र डोल्पाबाहेक ६९ जिल्लामा बोक्सीका मुद्दा दायर भए । सबैभन्दा बढी आव ०७१÷०७२ मा पाँच सय ६४ वटा मुद्दा परेका थिए । यस आवमा काठमाडौंमा मात्रै ४४ जना बोक्सीसँग सम्बन्धित मुद्दा परेको प्रहरीको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई मात्र आधार मान्दा वार्षिक औसत एक सय ३९ जना महिलाले बोक्सीपीडितका नाममा मुद्दा दर्ता गराएका छन् । यस आधारमा हरेक तीन दिनमा एक जना महिला बोक्सीका नाममा यातना भोग्न बाध्य छन् ।