नौ महिनाकी छोरी काखमा च्यापेर ट्राफिकको जागिर

 स्थायी घर सर्लाहीको लालबन्दीमा हाल ललितपुरमा डेरा लिएर छोरी सगँ बसेकी २६ वर्षीया लक्ष्मी गोले नेपाल प्रहरीकी सिपाही हुन्, जागिर छ ट्राफिक प्रहरीमा । उनी आमजागिरे नेपाली महिलाकी एक प्रतिनिधि पनि हुन् । दैनिक चुलोचौको सम्हाल्नुपर्ने जिम्मेवारी पनि छँदै छ ।

उनलाई हरेक बिहान एउटा परिचित आवाजले बिउँझाउँछ । तत्काल जुरुक्क उठ्छिन् र नजर तन्काउँछिन् । आफूलाई हेर्दै छोरी मुसुक्क हाँसेपछि लक्ष्मीको मनमा कान्ति छाउँछ । त्यसैले त उनी दुःखै–दुःखको चाङमा दौडिन तयार हुन्छिन् ।  उनका श्रीमान रोजगारी खोज्दै दुबई पुगेका छन । परिवारमा अरू सबै सदस्य छन् ।

एउटी जागिरे महिला जो एक्लै सहरमा हुन्छिन् र सन्तान हुर्काउने जिम्मा उनको एक्लो काँधमा छ भने कस्तो संघर्ष गर्नुपर्छ ? उदाहरण हुन् लक्ष्मी । उनी प्रायः ललितपुरको सानेपास्थित डेरादेखि काखमा छोरी च्यापेर एक घन्टाको पैदलयात्रामा बग्गीखाना पुग्छिन । कोही आफन्त डेरामा आएको मौका मिल्दा मात्रै हो, छोरी छाड्न मिल्ने । यी दिनमा त अफिससम्म साइकलमै हुइँकिन पाउँछिन ।

घरको आर्थिक अवस्था कमजोर छ । जागिर छाड्ने छुट छैन लक्ष्मीलाई । यस्तो कठोर कदम चाले भत्किन सक्छ गोले परिवारको आर्थिक समायोजन । त्यसैले त उनी नौ महिनाकी छोरी बुईमा बोकेर जागिरमा धाउनुपर्ने निर्विकल्प संघर्षमा छिन । लक्ष्मीको यो संघर्षमा सपनाको महल छ । जागिरबाट अवकाश पाउँदासम्म एउटा कार किन्ने सोच छ । जीवनभर पेन्सन पाइने आशा छ । छोरीको भविष्य सुन्दर बनाउने चाहना छ । र, भविष्यमा यही सहरमा एउटा घर ठड्याउने अपेक्षा छ लक्ष्मीको । पूरा हुन् उनका सपना, संघर्षको मीठो फल व्यवहारमै चाख्न पाऊन ।

बग्गीखाना पुगेपछि सडकमा निस्किनैपर्ने जागिर छ उनको । चोक–चोकमा उभिएर सिट्ठी फुक्नैपर्छ । घाम र पानी, धुवाँ र धुलो, कुनै समस्याबाट दिग्दार मान्ने छुट छैन लक्ष्मीलाई । यसवेला अफिसमै राख्छिन् छोरी, बेबी केयरमा । धन्न यतिसम्म सुविधा छ ।