ब्रेनट्युमरका कारण दुवै आँखाको दृष्टि गुमेकाले पढ्ने इच्छा अधुरै , सहयोगको लागि अपिल

 नगरपालिका–४ बर्दियाको गुलरिया तुल्सीपुरकी एक बालिकाको ब्रेनट्युमर रोगका कारण दुवै आँखाको दृष्टि गुमेको छ । १३ वर्षकी सरस्वती खड्काको ब्रेनट्युमरका कारण दुवै आँखाको दृष्टि गुमेकाले पढ्ने इच्छा अधुरै भएको छ । ब्रेनट्युमर रोग लागेपछि उपचारकै क्रममा दुवै आँखा नदेख्ने भएपछि सरस्वतीको पढेर शिक्षक बन्ने सपना अधुरै हुने खतरा बढेको छ ।

 गुलरीया तुल्सीपुरको ध्रुव माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत सरस्वती आँखा नदेख्ने भएदेखि विद्यालय गएकी छैनन् । सरस्वती भन्छिन् ‘बुवाले उपचारमा केही खर्च गर्नुभयो, तर मेरो आँखा ठीक भएन, अब बुवासँग पनि पैसा छैन, कसैले उपचार गरिदिए मैले संसार देख्न पाउने थिएँ र सपना पनि पूरा गर्ने थिएँ ।’  सरस्वतीले अहिले दुखाई कम गर्ने औषधि खाएर घरमै बस्नु भएको छ । उपचारमा धन सबै सकियो बाँकी उपचार कसरी गर्ने होला भन्ने चिन्ता उनका बुवाआमालाई छ । ‘गरिब हुनु पनि अभिषापै रहेछ, कसैले सहयोग गरेर छोरीको जिन्दगी बचाई दिए ठूलो कल्याण हुने थियो, यो छोरीले आँखा देख्न पाँउथी कि’ सरस्वतीकी आमा नैनसरा खडकाले भन्नुभयो ‘सक्दो उपचार गरीयो, अब कसरी उपचार गर्ने, उपाय नै छैन, आर्थिक अवस्था कमजोर छ, उपचारकै लागि एक हल गोरु र भैँसी बेचियो ।

 दुई लाख ४० हजार रुपैयाँ सकियो तर छोरीलाई ठीक भएन ।’ ६ बहिनी मध्ये साईँली छोरी सरस्वती मिहिनती रहेको ध्रुव माध्यमिक विद्यालयका शिक्षक अर्जुन आचार्यले बताउनुभयो । ‘सरस्वतीको पारीवारीक स्थिती पनि दयनिय छ, घरबास मात्रै छ, अरु जग्गा जमिन छैन, पारिवारिक अवस्था कमजोर भएकै कारण उनको उपचार हुन नसक्नु दुःखको विषय हो, त्यसैले कसैले उनको उपचारमा सहयोग गरिदिए हुन्थ्यो’ शिक्षक आचार्यले भन्नुभयो ।