३ लाख अमेरिकी डलरको जुत्ताको संग्रह

दुबईका एक अर्बपतिका छोरा रासेद सइफ बेल्हासाको जीवनशैली अरूको भन्दा फरक छ । १५ वर्षीय यी किशोर जुत्ताको नयाँ संग्रह बजारमा ल्याएर रातारात चर्चित बनेका छन् । दुबईको ठूलो निर्माण व्यावसायी तथा उद्यमी सइफ अहमद बेल्हासाका छोरा हुन् उनी । बुबा अहमद सइफ इन्टरनेसनल (बेल्हासा ग्रुपबेल्हासा होल्डिङ) कम्पनीका संस्थापक र अध्यक्ष हुन् ।

उनको कम्पनी निर्माण क्षेत्र, रियल इस्टेट, टेक्नोलजी, अटोमोटिभ, ट्राभल र टुरिजम, हस्पिटालिटी, सामान्य व्यापार, निर्माणसँग सम्बन्धित सामग्री उत्पादन र शैक्षिक व्यापारमा चर्चित छ । आवश्यक पार्टपुर्जा उत्पादनमा सक्रिय थियो । कम्पनीमा अहमद र उनका छोराको नाममा धेरै लगानी छ । अहमदको सोख फुटबलमा छ । त्यसैले आफ्नै अध्यक्षतामा उनी खेल क्लब ‘अलसाबाब’ स्थापना गर्न भ्याएका छन । यो क्लब सोकर टिमका लागि लोकप्रिय छ । पछिल्लो समय अहमद समाज सेवामा पनि सक्रिय छन् ।  सन् १९८० को दशकमा यो कम्पनीको स्थापना युनियन ट्रेडिङका रूपमा पहिलोपटक गरिएको हो । सुरुमा अहमद सइफको कम्पनीले कार र ऊर्जा परियोजनाका लागि शैक्षिक र मानव सेवा क्षेत्रमा उनले आर्थिक सहयोग गरेका छन् ।

‘वेल्थ–एक्स’ का अनुसार ‘सेल्फमेड’ अर्बपति अहमद सइफको कुल सम्पत्ति २ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । छोरा रासेदको रुचि बुबा अहमदसँग पटक्कै मेल खाँदैन । बुबाले भन्दा पृथक् काम गरेर उनी चर्चित बनेका हुन् । विगत केही समययता खर्चिलो जीवनशैलीकै कारण सामाजिक सञ्जालमा उनी छाएका छन् । यूएईमा धनाढ्य अरबी बालबालिकामध्ये उनी पाँचौं सर्वाधिक धनाढ्य हुन् । आफ्ना अर्बपति अभिभावकको पैसाबाटै धनाढ्यमा केही किशोरहरू दरिएका छन् ।  केहीले पैतृक सम्पत्तिको उपयोग गरी आफ्नै व्यापार सञ्जाल सञ्चालन गरिसकेका छन् या गर्दै छन् ।

कोही भने आफ्नो जीवनशैलीलाई पुर्खौली सम्पत्तिको आडमा भड्किलो बनाएका छन् । तीमध्येमा रासेद सइफ पनि पर्छन् । उनी लोकप्रिय फेसन लाइनका एकजना सह–मालिक पनि हुन् । रासेदले थोरै समयमा ३ लाख अमेरिकी डलर मूल्य (३ करोड ८ लाख ७४ हजार ७ सय ३१ रुपैयाँ) बराबरका महँगा स्पोर्ट जुत्ताको संग्रह गरेका छन् । जुत्ता र स्निकर्समा उनको रुचि जागेको धेरै पहिले भने होइन । सन् २०१५ मा लोकप्रिय सिंगर कानी वेस्टको डिजाइर सुज हेरेर त्यसको उनी सौखिन बनेका हुन् । त्यसपछि उनले सुज र स्निकर्सको एउटा ठूलो संग्रह सुरु गरेका थिए ।

रासेद विगत केही समययता सोसल मिडियामा तहल्का मच्चाएका छन् । उनको इन्स्टाग्राम र युट्युबमा हजारौं शुभचिन्तक भइसकेका छन् । हिन्दी चलचित्रका सुपर स्टारहरू शाहरुख खान, सलमान खानदेखि मेसी र रोनाल्डोजस्ता फुटबलका ठूला स्टारले समेत उनीसँग भेटिसकेका छन् । उनीसँग भेटेका अन्य सेलिब्रेटीहरूमा ज्याकी चान, निक्की मिनाज, खलोए करदासियन, विज खालिफा, पेरिस हिल्टन, इरिना सायाकलगायतका छन् । उनलाई भेट्न पहिले नै सेलिब्रेटीले समय लिनुपर्छ । उनले यसका लागि कर्मचारी नै नियुक्त गरेका छन् । दुबई एउटा सपनाको भूमि पनि हो, जहाँ रासेद एउटा बोसको जस्तो जीवनयापन गर्छन् । ‘मनी किक्स’ का नामले समेत चर्चित उनी दुबईस्थित इन्टरनेसनल स्कुल अफ आर्टस एन्ड साइन्सका विद्यार्थी हुन् ।

‘क्याचन्युज’ का अनुसार उनी स्कुलबाट आएपछि एउटा फेसन लाइनका सह–मालिकको भूमिका निर्वाह गर्छन् । त्यसबाट फुर्सद भए आफ्नै घरमा स्थापना गरेको टाइगर क्लब र वयष्क जंगली बिराला र चिम्पान्जीसँग रमाउँछन् । रासेदले युट्यब र इन्टाग्राम दुवैमा महँगा जुत्ताको सोकेस राखेर चर्चित भएका हुन् । उनका आफ्नै ‘मनी किक च्यानेल’ मा सब्स्क्राइबरको संख्या साढे ५ लाख र इन्स्टाग्राममा फलोअर्स ४ लाख ७० हजारभन्दा बढी छन् । सन् २०१३ को मेमा पहिलोपटक केही तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरेका थिए । त्यसको एक महिनापछि उनले युट्युबमा अकाउन्ट खोले । युट्युबमा उनको ‘स्निकर टक’ को शृंखला सबैभन्दा चर्चित भिडियो हो । त्यसमा उनले बिज खालिफा, त्यगा, दि गम, साइलेन्टा र किड इन्कसम्बन्धी फिचर सार्वजनिक गरे ।