फलाम पिटने सीप बाटैं राष्ट्रिय पहिचान

धनकुटा ४ बरबोटेका गोकुल विश्वकर्माका आरन चलाएर खुकुरी बनाउने   भने पेसा राष्ट्रियस्तरको पहिचान दिलाउने माध्यम बनेको छ । उनका बाबुका लागि त्यो जीविकोपार्जनको माध्यम मात्र थियो । बाबुले पसिना चुहाउँदै फलाम पिटेको देख्दा उनलाई पनि खुकुरी बनाउने रहर जागेको थियो रे । भन्छन्, ‘बुवालाई सघाउने बहाना गर्दागर्दै मैले पनि सीप सिकें ।’ विश्वकर्माको अहिलेको पहिचान राष्ट्रियस्तरका उद्यमीको छ ।

०७२ सालमा काठमाडौं भृकृटीमण्डपमा सम्पन्न २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा २० हजार रुपैयाँसहित उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित भए । उनी ‘यति ठूलो सम्मान पाउँछु भन्ने कहिल्यै सोचेको थिइनँ । पुरस्कार थाप्दा खुशीका आँशुले आँखा भरिए,’ उनी भन्छन्, ‘कतिपयलाई पुख्र्यौली पेसा अँगाल्न हीनताबोध हुन्छ । तर, मैले यसैबाट मानसम्मान पाएको छु ।’ उनको पुख्र्यौली पेसा घरेलु तथा साना उद्योग विकास समितिमा सबिन खुकुरी उद्योगको रूपमा दर्ता छ ।

गोकुलको उद्योगमा धनकुटे, सिरुपाते, भोजपुरेलगायत खुकुरी उत्पादन हुन्छन् । तीमध्ये ‘धनकुटे खुकुरी’को माग बढी छ । यसको दाप बुट्टेदार हुने र अन्य खुकुरीभन्दा फिनिसिङ राम्रो देखिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ । धनकुटे खुकुरी मायाको चिनो र कोसेलीका रूपमा बढी प्रयोग हुन्छ । उद्योगबाट उत्पादित खुकरी काठमाडौंका विभिन्न सोरुमबाट सिंगापुर, बेलायत, अमेरिका, चीन र भारतसम्म पुगिरहेको छ । उनको उद्योगमा पाइने खुकुरीको मूल्य १२ सयदेखि २० हजार रुपैयाँसम्म पर्छ ।

उनका अनुसार १६ वर्षअघि अहिलेको जस्तो बजार क्षेत्र फराकिलो थिएन । गाउँघरबाट अर्डर आएका खुर्पा, छुरी, सामान्य खुकुरी बनाएरै घरव्यवहार टारेका थिए । तर, अहिले उद्योगबाट खर्च कटाएर वार्षिक आठ लाख रुपैयाँसम्म बचत गर्छन् । भन्छन्, ‘यही व्यवसायबाट घरघडेरी जोडेँ, छोराछोरीलाई पढाएँ, घरव्यवहार चलिरहेको छ ।’ शुरुमा उनले बनाएको खुकुरीको बजार स्थानीय गाउँघर र धरानसम्म मात्र सीमित थियो, जसबाट कमै फाइदा हुन्थ्यो । बिस्तारै काठमाडौंका व्यापारीसँग सम्पर्क बढाए, त्यसपछि धरानमा पाइनेभन्दा दोब्बर फाइदा हुँदा उनको व्यापार फस्टायो । 

खुकुरी बनाउन आवश्यक फलाम र पित्तल भने उनले काठमाडौंबाट ल्याउने गर्छन् । चालु आवमा घरेलु तथा साना उद्योग विकास समिति, धनकुटाले उनको उद्योगलाई सहुलियतमा केही प्रविधि हस्तान्तरण गरेको छ । विश्वकर्माका अनुसार पछिल्लो समय सामुदायिक वनले कडाइ गर्न थालेपछि फलाम तताउने कोइलाको अभाव हुन थालेको छ । बजारमा महँगो मूल्य तिरेर किन्नु पर्छ । स्थानीय बजारमा कोइला प्रतिटिन ७५ देखि एक सय रुपैयाँसम्म पर्छ । यस्तै, खुकुरीको खोल दापका लागि आवश्यक सिङ उनी पोखराबाट ल्याउने गर्छन् । टाढाबाट ल्याउँदा ढुवानी खर्च बढी तिर्नुपर्ने उनको भनाइ छ । मागअनुसार मूल्य निर्धारण हुने उनको भनाइ छ ।