बाबुआमा दुवै अशक्त भएपछि ११ वर्षको सानै उमेरमा जिम्मेवारीको भारीले थिचिए

 बुंगल नगरपालिका साविकको खिरातडी गाविसका ११ वर्षीय बालक अर्जुन कार्कीले ५ जनाको परिवार धान्दै आएका छन् । बाबुआमा दुवै अशक्त भएपछि उनले गाउँलेको बाख्रा चराएर र सडकमा मागेर परिवारको गुजारा चलाएका हुन् । अर्जुनका बाबु राइसिङ कार्की ७५ वर्षका छन्  त आमा हर्काको उमेर करिब ४० पुगेको छ ।

अर्जुनका बुबा पक्षाघातले ओछ्यानबाट उठ्न सक्दैनन् भने आमा पूर्ण रूपमा दृष्टिविहीन छिन । उनका बाबुले पहिलाकी श्रीमतीबाट बच्चा नभएपछि १२ वर्षअघि ६३ वर्षको उमेरमा दृष्टिविहीन हर्कासँग विवाह गरेका हुन् । ३ वटा बच्चा जन्माएका उनी बुढ्यौलीसँगै पक्षाघातको सिकार भए । यसपछि परिवारको भारी नाबालकमा पुगेको हो । ‘आमाले त पहिला पनि काम गर्न सक्नुहुन्थेन । बुवाले नै सबैथोक गर्नुहुन्थ्यो,’ अर्जुनले भने, ‘अहिले बुवा पनि काम गर्न सक्नुहुन्न । सबै मेरै भरमा छन् ।’

आमाबाबु दुवैको पालनपोषणदेखि औषधोपचार गर्ने र नाबालक अवस्थाका एक भाइ र एक बहिनीको पेट भर्न उनी भोकभोकै पनि दौडिन्छन् । सुत्नलाई कहिले ओत पाउँछन्, कहिले खुला आकाशमै रात बिताउँछन् । ‘भाइबहिनी भोक लाग्यो भनेर कराउँछन् । पहिला त गाउँका मान्छेलाई मागेर, कसैको बाख्रा चराएर भए पनि चलाएको थिएँ,’ सदरमुकाम चैनपुरका सडकमा नगरपालिकाले सहयोग गरिदिन भन्दै लेखिदिएको सिफारिस देखाउँदै अर्जुनले भने, ‘आजभोलि गाउँलेले पनि दिन छाडे, त्यही भएर बजारतिर पसेको हुँ ।’

बच्चैमा आमाबाबुको सेवा र भाइबहिनीको लालनपालन गर्ने जिम्मेवारीको भारीले थिचिए पनि उनले निकै दु:खसाथ घर सम्हालिरहेको बुंगलका धनबहादुर बोहराले बताए । ‘वयस्क मान्छेलाई परेको भए पनि उनको जसरी आमाबाबु र भाइबहिनीको सेवा गर्न सक्दैनथे होलान्,’ धनबहादुरले भने, ‘यति सानो बच्चाले सबै धानेको छ । त्यहाँका मान्छे अचम्म पर्छन् ।’

११ वर्षका अर्जुन स्कुल जाँदैनन् । ९ वर्षीया बहिनी रमिला र ६ वर्षका लक्ष्मणलाई भने स्कुल पठाएका छन् । अर्जुनलाई आफू नपढे पनि भाइबहिनीलाई पढाउने धोको छ । उनी भन्छन्, ‘मैले त आमाबुवा पाल्नुपर्छ । म त पढ्दिनँ होला । मागेरै भए पनि भाइबहिनी पढाउँछु ।’ बोलीमा परिपक्व सुनिने अर्जुनले भाइ र बहिनीलाई राम्रो स्कुलमा पढाइदिने कोही भेटिए आफ्नो बोझ कम हुने बताए ।