१६ महिनासम्म आगोले जलेको घाउको उपचारबिना नै बाचेका राउटे

आगोले जलेर ट्रमा सेन्टरमा भर्ना भएका राउटे कपिल शाही कुल पूजाका  लागी घर फर्केने भएका छन । शाहीलाई २० दिनपछि डिस्चार्ज गरिएको छ  । उनी १६ महिनाअघि आगोमा जलेका थिए तर उनलाई २० दिनअघि मात्र ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शाहीको उपचार अपूर्ण हुँदाहुँदैपनि घर फर्काउनु परेको छ । २० वर्षीय कपिल ०७२ को  पुषमा आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएका थिए ।

शाहीको तीन वटा शल्यक्रिया गरि  पोलिएको भागमा छाला प्रत्यारोपण गरिएको डा. दाहालले बताए । ‘उनलाई निरन्त फिजियोथेरापीको आवश्यकता छ, नत्र घाउहरु बल्झिन सक्छ’ उनले भने । शाहीको बाँकी उपचारका लागि सुर्खेतको क्षेत्री अस्पतालमा रिफर गरिएको उनले बताए । उनी अछामको भैरवस्थानका हुन् । आगोले पोलेर उनको पाखुरा, ढाड र पेटका भागमा घाउ भएको थियो । १६ महिनासम्म जलेको घाउको उपचारबिनै राउटे बाँच्नु आश्रयजनक रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

उनलाई गत वैशाख ७ गते ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । बेल्जियमका डाक्टर लुक बुकुर र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको थियो । राउटे समुदायको १२ वर्षे कुलपूजामा सहभागि गराउनको लागि घर फर्काउनु परेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी  खड्का अधिकारीले बताइन् । ‘उनीहरुको कुलपुजा अवधिमा कोही पुरुष घर बाहिर बस्नुहुन्न भन्ने मान्यता छ, यता बस्नै मानेनन्’ उनले भनिन् ।