नयाँदिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई नेपाली विद्यार्थीको मृत्यु

चैत्र २६, भारतको राजधानी नयाँदिल्लीमा चार्टर एकाउन्टेन्ट पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु भएको छ । उनीहरुको हिमाञ्चल प्रदेशस्थित कुल्लु मोनालीमा हावाहुरी र हिमपातका कारण मृत्यु भएको हो । उनीहरू एक साताअघि दिल्लीबाट ट्ेरकिङका लागि त्यहाँ गएका थिए ।

मृत्यु भएकामा काठमाडौं निवासी विप्रा पोखरेल र चम्पापुर कञ्चनपुरका सन्तोष ऐर छन् । बुधबार साँझ ८ बजे अचानक चलेको हावाहुरी र हिमपातमा परेका पाँच विद्यार्थीमध्ये २ जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचार भइरहेको छ । बाटो भुलेका कारण उनीहरू अत्यधिक हिमपात भइरहेको क्षेत्रमा पुगेका थिए ।  दिल्ली लक्ष्मीनगरस्थित सीएका विद्यार्थी राहुल यादवका अनुसार मंगलबार ८ बजे उनीहरूले ‘हामी अलपत्र पर्‍यौं, हामीलाई उद्धार गर्नुपर्‍यो’ भनी फोन गरेका थिए ।

तर त्यसको केही समयपछि नै उनीहरू सम्पर्कविहीन भएका थिए । उनका अनुसार स्थानीय प्रहरीले पाँचै जनालाई उद्धार गरेर राति १२ बजे अस्पताल पुर्‍याएको थियो । अस्पतालले २ जनालाई तत्काल मृत घोषणा गरेको थियो । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर एसएसपी यादव खनालका अनुसार शव ल्याउने र घाइतेको उपचारका लागि पहल भइरहेको छ ।

उनका अनुसार खबर आएलगत्तै पाँचै जनालाई उद्धार गरी अस्पताल लगिएको थियो । मृतकका आफन्त काठमाडौंबाट आएपछि पोस्टमार्टम हुने र लास काठमाडौं पठाउने प्रक्रिया सुरु हुनेछ । घाइते ३ विद्यार्थी नितेश प्रधान, विकास कँडेल र अर्जुन मिश्राको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राहुलले तीनै जनाको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।