बीपी प्रतिष्ठानमा चिकित्सक र नर्सको अभावले इमर्जेन्सी सेवा प्रभावित

चैत्र २५, - बिरामी उपचारका लागि दक्ष चिकित्सक र नर्सको अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन बेग्लाबेग्लै इमर्जेन्सी सेवा प्रभावित हुन थालेको छ । प्रतिष्ठानका प्रवक्ता समेत रहेका डा. नारायण भट्टराईका अनुसार बिरामीको चाप अनुसार चिकित्सक र नर्स अपर्याप्त हुदा सीमित चिकित्सक र नर्सले अत्यधिक संख्यामा आउने विरामीको उपचार गर्नु पर्दा खाजा–खाना खाने देखि सुत्ने पालो समेत नपाएको अवस्था सृजना भएको छ ।

उपचारका लागि आउने विरामीले समेत लामो पालो पर्खनु पर्ने अवस्था आएको छ भने प्रतिष्ठानको मुख्य इमर्जेन्सी विभाग, बाल इमर्जेन्सी विभाग र स्त्री तथा प्रसुतीका इमर्जेन्सी विभागमा चिकित्सक र नर्स अभाव हुँदा भएका सीमित जनशक्तिले मुस्किलले काम गरिरहेका छन् ।  इमर्जेन्सी सेवामा दैनिक डेडदुइसय विरामी ल्याइन्छन् । उनीहरुको उपचारकालागि कम्तिमा ३० जना चिकित्सक र ५५ जना नर्स आवश्यक छ । मुख्य इमर्जेन्सी विभागका इन्चार्ज डा. ज्ञानेन्द्र मल्लले भने ।

पुर्वको रिफरल सेन्टर भएकाले प्रतिष्ठानको इमर्जेन्सीमा अत्यधिक विरामीको चाप बढिरहेको बेला जनशक्ति अभाव भएको बताए । उनले अस्पतालमा भएका सीमित नर्स र चिकित्सकले इमर्जेन्सीमा आएका सवै विरामीलाई बेलैमा उपचार सेवा प्रवाह गर्न नसक्दा विरामी र कुरुवासँग विवाद हुने गरेको बताए ।

प्नरतिष्ठानकै बालरोग विभागको इमर्जेन्सी कक्षमा पनि चिकित्सक र नर्सको अभाव भएको विभागीय प्रमुख बालरोग विषेशज्ञ प्रा. डा. रुपासिं राजभण्डारीले बताइन् । उनले भनिन्, ‘बाल इमर्जेन्सीमा कम्तिमा ६ जना चिकित्सक र १२ जना नर्स आवश्यक छ । तर दुइ जना चिकित्सक र चार जना नर्सले २४सै घण्टा खट्नु परेको छ ।’ एकै छिन आराम गर्ने पालो समेत नपाएको अवस्थामा गुणस्तरीय उपचार सेवा दिन नसकिने उनले बताइन् ।  उनका अनुसार भएका कतिपय चिकित्सकहरुले पोष्ट ग्राजुएटको परीक्षाको तयारी गर्नु परेकाले बाल आकस्मिकमा चिकित्सकको अभाव भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. भट्टराईका अनुसार चिकित्सक र नर्सको अभावबीच गत जनवरीदेखि मार्च अन्तिमसम्म प्रतिष्ठानमा ४३ जना नर्स र १२ जना हाउस अफिसर चिकित्सकहरुले राजीनामा दिएपछि झन मुस्किल भएको हो । प्रतिष्ठानमा चिकित्सक र नर्स अभाव पुरानै समस्या भएकाले नया उपकुपति दुइ महिनाको ढिलाइपछि नियुत्ति भएर रिक्त जनशक्तिको पदपुर्ती गर्न विज्ञापन निकाल्ने बेलामा स्थानीय तहको निर्वाचन घोषणा सँगै निर्वाचन आयोगले आचार संहिता लागु गरेपछि थप समस्या उत्पन्न भएको हो ।