घर आउँछु भनेका बुवा जेल परेको खबर पाएपछि

सर्लाही, सधैं हँसिलो रहने पथरकोट ३ की ल्यास्याङ्ग मायाको परिवार तीन महिना जति भयो निराश छन् । ल्यास्याङ्ग आमा छोरा दुवै सँगै बसिरहेका थिए । श्रीमान् चन्द्रबहादुर कल्तानको कुरा निकाल्ने बितिकै छेउमा बसेका छोरा पेमाको अनुहार मलिन भयो ।एकछिन वातावरण शान्त भयो । ल्यास्याङ्ग मायाले नरोउ बाबु भन्दै अँगालो मारिन् ।

परिवार र छोराहरुको लागि घटनालाई नजरअन्दाज गरेर पीडा सहेर भएपनि सहज मान्नु पर्दो रहेछ ।’ ल्यास्याङ्ग मायाले भन्नुभयो ‘जिन्दगी जिउन सहज नहुने रहेछ । तीन महिना अघि पुस २६ गते आज त मेरो ड्युटीको अन्तिम दिन हो बुढी भोलि म घर आउँछु भनेर श्रीमान् चन्द्रबहादुरले फोन गरेको कुरा अहिले पनि  ल्यास्याङ्ग मायाको कानमा गुन्जिरहेको छ । तर आउँछु  भनेको दिन श्रीमानले ल्यास्याङ्गलाई फोन गर्नुभएन । त्यसैले उहाँले यतैबाट फोन गर्नुभयो, तर फोन लागेन ।

यो क्रम चार दिनसम्म रहिरह्यो । चार दिनसम्म पनि श्रीमान्को फोन नउठेपछि ल्यास्याङ्ग मात्रै होइन पुरै परिवार नै आत्तिए । पाँच दिनपछि ल्यास्याङ्गलाई श्रीमानले फोन गर्नुभयो तर आउने समय बताउनुभएन । जेलमा परेको छु पो भन्नुभयो । ‘उहाँको आवाज सधैं भन्दा भिन्न थियो । रुन्चे स्वरमा बुढी म जेलमा परेको छु मलाई चाँडो निकाल भन्नुभयो त्यसपछि त म रिङगटा लागेर थुचुक्कै बसेंछु ।’ उहाँले भन्नु भयो ।

‘कम्पनीको गाडी छोडेर ट्वाइलेट गएका बेला गाडी चोरिएपछि त्यही आरोपमा प्रहरीले पक्रेको रहेछ ।’त्यतिबेला बेहोस जस्तै भएकी ल्यास्याङ्ग केही समयपछि त्यही नम्बरमा फोन गर्दा श्रीमान जेल पर्नुको कारण थाहा पाउनुभयो । उहाँले सुनाउनुभयो ‘अहिले त  प्रहरी र कम्पनीको साहु मिलेर गाडी बेचेर खाएको आरोप लगाएका छन रे ।’ तर ल्यास्याङ्गलाई श्रीमानले आफूलाई गाडी नबेचेको भन्दै जेलबाट निकाल्न आग्रह गरिहरनुभएको छ । उहाँ आफैंले केही गर्न सक्ने कुरै थिएन ।

उहाँले सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रमा पुगेर निवेदन दिनुभएको छ । सूचना केन्द्रले उहाँलाई श्रीमानको उद्धारका लागि प्रयास गर्ने आश्वासन दिएको छ । यो आश्वासनले केहीदिन त मन हलुङगो भएको थियो ल्यास्याङ्गको तर तीन महिनासम्म पनि केहि खबर नआएपछि त्यो आशा निरासामा बद्लिएको । त्यसैले उहाँ श्रीमानलाई घर झिकाइदिने व्यक्ति र संस्थाको पर्खाइमा हुनुहुन्छ ।