प्रेमीकै योजनाका कारण प्रेमीकाको मृत्यु

कालीमाटी तरकारी बजारनजिकै बस्ने राधिका नियमित हिँड्ने बाटो थियो । धादिङकी २५ वर्षीया राधिका श्रेष्ठ न्युरोडको मख्खनगल्लीस्थित न्यु डालिज साडी संसारमा काम गर्थिन् । जहाँ भक्तपुर बागेश्वरीका २८ वर्षीय प्रकाश लामिछानेको मोबाइल पसल थियो । सानैदेखि बुवा–आमालाई नटेर्ने प्रकाश आइटीमा पोख्त थिए , जसलाई प्रकाश तथा उनका नातेदार भाइ मिलेर चलाउँथे । त्यसैले आमाबुवाले छोरा नबरालियोस् भनेर मरुमा मोबाइल पसल खोलिदिएका थिए ।

boy frn.jpg

राधिका मरुकै बाटो भएर न्युरोड आउ–जाउ गर्थिन् । यही ओहोर–दोहोर नै उनीहरूबीच चीनजानको माध्यम बन्यो । त्यो चीनजान दुई वर्षअघि प्रेममा परिणत भयो । प्रकाशको महत्वाकांक्षाले त्यसमा उनलाई खुसी प्रदान गर्न सकेन । राधिका र प्रकाश दुवैको आर्थिक अवस्था राम्रै थियो । 

प्रकाशले पैसा कमाउने लोभमा अपहरणको एउटा योजना बनाए । उनको योजनामा उनका मामाका छोरा भक्तपुर बागेश्वरीका २७ वर्षीय सरोज घोरासैनी तथा साथी २४ वर्षीय किशोर गिरी सम्मिलित भए । प्रेमीको यो योजनामा मतियार बन्ने राधिकाको निर्णय नै उनको मृत्युको कारण बन्न पुगेको प्रहरीको भनाइ छ । ५ फागुनमा अग्रवालको अपहरण गरेर फिरौती असुलेको केही घण्टामै उनले आफ्नो ज्यान गुमाइन् ।

उक्त साँझ वसन्तपुरमा फिरौतीबापत प्राप्त रकम बाँडफाँड भयो । बाँडफाँडपछि ६ बजे प्रकाश र राधिका ट्याक्सी लिएर भक्तपुर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे । अर्को ट्याक्सीमा किशोर र सरोज पनि त्यहीँ पुगे । उक्त घरमा प्रकाश एक्लै बस्थे । नमिल्ने र अराजक स्वभावका छोरासँग बस्न नसकेपछि प्रकाशका बुवाआमा छुट्टै पसल खोलेर अन्तै बस्छन् ।

घरमा पुगेपछि प्रकाशलाई राधिकाका कारण आफू पक्राउ पर्ने र पोल खुल्ने डर भयो, जसका कारण उनले आफ्नी दुई वर्षदेखिकी प्रेमिका राधिकाकै हत्या गर्ने मनसाय बनाए । सोही योजनाअनुरूप अपहरणमा प्रयोग गर्न जैसीदेवलमा किनिएको डोरी र कार्टुन टेपको सहायताले राधिकाको मुख बन्द गरियो भने उनको खुट्टा डोरीले बाँधियो । त्यसपछि प्रकाशले उनको घाँटी थिचेर हत्या गरे । राधिकाको हत्यापछि उनको मृतक शरीरलाई प्लास्टिकको बोरामा हालेर मोटरसाइकलमा राखी घरभन्दा झन्डै २ सय मिटर तल मुहानपोखरी भन्ने ठाउँमा खाल्डो खनी पुरियो ।

अपहरणको १५ दिनपछि २० फागुनमा प्रहरीले सडेगलेको अवस्थामा राधिको शव फेला पार्‍यो । त्यसमा अनुसन्धान गर्दै जाँदा अपहरणसँग जोडिएको यो हत्याको पर्दाफास भएको हो । ‘राधिकालाई आफ्नो कमजोर कडी मानेपछि प्रकाशले उनको हत्या गरेको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, ‘यो अपराध मनोवृत्तिको पराकाष्ठा हो ।’ अमात्यका अनुसार बयानका क्रममा पक्राउ परेका किशोर गिरीले पनि प्रकाशले अग्रवालको अपहरण पश्चात आफूहरूको पोल खुल्ने डरले प्रेमिकाको हत्या गर्ने योजना बनाएको बयान प्रहरीलाई दिएका छन् ।

हत्या गरेको भोलिपल्ट प्रकाश प्लेन चढेर नयाँदिल्ली गए भने किशोर स्थलमार्ग हुँदै नयाँदिल्ली पुगे । लामो समय दिल्ली बसेपछि किशोर गत बुधबार राति नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे भने सरोजलाई भने दिउँसो प्रहरीले न्युरोडबाट पक्राउ गरिसकेको थियो । सरोज भने काठमाडौंमै थिए । अपहरण र हत्याका मुख्य योजनाकार प्रकाश अझै फरार छन् ।