‘ब्लड मनी’ तिर्न नसकेर विदेशबाट फर्कन नपाएका आफन्तलाई उद्दार गरिदिन परिवारको आग्रह

हत्या अभियोग लागेका नवलपरासीको मध्यबिन्दु नगरपालिका ४ का थानेश्वर भुषाल र मकवानपुरको साविक मार्खु गाविस ८ का दिनेश गोलेका परिवारले यस्तो आग्रह गरेका हुन् । दिनेशले तीन लाख रियाल (झण्डै ९० लाख रुपैयाँ) ब्लड मनी वापत तिर्नुपर्ने फैसला त्यहाँको तल्लो अदालतले गरेको छ ।

त्यसैगरी थानेश्वरले डेढ लाख रियाल (झण्डै ४५ लाख रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने परिवारले जनाएको छ । जेद्धास्थित नेपाली महावाणिज्य दूतावासले ब्लड मनी तिरेर मात्रै फर्काउने सकिने जानकारी गराएको थानेश्वरकी आमा यमकला भुषालले जानकारी दिनुभयो । म्यानपावर कम्पनीले फरक कम्पनीमा पठाएकाले समस्या आएको उहाँले बताउनुभयो । पासपोर्ट नम्बर ०५८३१४४० भएका २७ वर्षीय दिनेश २०६९ कात्तिकमा वल्र्डवाइड इम्प्लोइमेन्ट म्यानपावरबाट साउदी जानु भएको हो । त्यस्तै, थानेश्वरले चलाएको गाडीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । उनीहरुलाई उद्दार गर्न प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले सघाइरहेको छ ।

ज्यान जाने गरी भएको सडक दुर्घटनामा गल्ती गरेको भन्दै उनीहरुलाई हत्या अभियोग लगाइएको थियो । दिनेशले चलाउने पानी ट्याङ्करमा कार ठोक्किदा चार जनाको मृत्यु भएको थियो । दुर्घटना पछि पक्राउ परेका दिनेशलाई महिनामा दुई पटक अदालतमा उपस्थित हुने गरी रिहा गरिएको छ । अदालत दोषी ठहर गरेपछि दिनेशले प्रतिव्यक्ति ७५ हजार रियालका दरले ब्लड मनी तिर्नुपर्नेछ ।