सन्तान आउने आशमा आमाहरु

 ७३ वर्षीया सूर्यकला घिमिरे देवघाटस्थित एनआरएनएद्वारा सञ्चालित वृद्धा श्रममा बस्न थालेको ६ वर्ष पूरा भएको छ । दुई छोरी र एक छोराकी आमा घिमिरे छोराले हेलाँ गरेका कारण वृद्धा श्रममा बस्नुभएको हो । एक वर्षदेखि भेट्नसम्म पनि छोरा नआएको भन्दै उहाँले आँखा रसिलो बनाउनुभयो । बुढेसकालमा छोराबुहारीसँग बस्ने र नातिनातिनासँग रमाउने इच्छा भए पनि उहाँको त्यो चाहना अपुरो भएको छ । आफ्नै छोराका कारण उहाँ पीडा सहेरै बस्नुभएको छ । छोरीहरू कहिलेकाहीँ आमा भेट्न आउने गरे पनि एक वर्षदेखि छोराको मुख देख्न नपाएको उहाँको गुनासो छ ।

घिमिरेजस्तै वृद्धा श्रममा बस्ने अन्य वृद्धवृद्धाको अवस्था पनि उस्तै छ । सबै सन्तानबाट टाढिनुको पीडा सहेर बसेका छन् । कतिपय सन्तानको पर्खाइमा दिन कटाएर बसेका छन् । बुढेसकालको सहारा मानिने सन्तानबाटै अपहेलित भएपछि वृद्धा श्रममा बस्नुपरेको भरतपुरकी ८१ वर्षीया गोमादेवी आचार्यले बताउनुभयो । उहाँका दुई छोरा छन । छोराबीच कुरा नमिलेपछि ८४ वर्षीया आचार्य श्रीमान्को साथमा वृद्धा श्रममा बस्नुभएको हो । श्रीमान् मुकुन्ददेव आचार्य बिरामी भएका कारण हिँडडुल गर्न सक्नुहुन्न । ‘सानोमा छोराछोरीलाई खुवाउँदा भोकै बसियो', आचार्यले भन्नुभयो, ‘अहिले सम्झिँदा छाती चिरिन्छ ।'

देवघाटमा रहेको एनआरएनएको वृद्धा श्रममा पैसा तिर्नुपर्छ । तर घिमिरेका छोराले पैसा दिन पनि बन्द गरेका छन् । त्यसैले बत्ती कातेर आएको पैसा तिर्नुहुन्छ घिमिरे । ‘तैपनि छोरो आउँछ कि भन्ने आस लाग्छ', उहाँले भन्नुभयो, ‘आफूले खाई-नखाई गरेर हुर्काएको सन्तानले यसो गर्ला भन्ने सोचेकी पनि थिइनँ ।' त्यसमा पनि आमाको मुख हेर्ने दिन घिमिरेलाई सबैभन्दा बढी नमज्जा लाग्छ ।