श्रीमानले भर्खरै जन्मिएको छोरी पनि मेरो होइन भनेपछि - गतल बुझाईले झण्डै घर टुटेको

सर्लाही, वैशाख १० मुर्तीया ८ मा रहेको सीतादेवीको खाजा पसलमा भिडभाड छ ।  व्यस्तता केही कम भएपछि नजिकैको गुन्द्री तानेर छेवैमा बसेकी सीतादेवीले भन्नथालिहाल्नुभयो ।‘म खुशी छु भन्ने कुरा त मेरो अनुहारले नै बताइरहेको छ होला नि हैन?’

झण्डै आठ महिना अघिदेखि पनि सीतादेवीको अवस्था यस्तै थियो । तर कामले होइन परदेशका गएका श्रीमानको तनावले ।  उहाँ गर्भवती भएका बेलामा उहाँका श्रीमान छोडेर विदेश जानुभएको थियो । तर विदेश पुगेका श्रीमानले उहाँलाई कहिल्यै सञ्चो बिसञ्चो सोध्नुभएन । उहाँले त फोन गरेपिच्छे आफूले पठाएको पैसाको खर्चका बारेमा मात्रै सोध्नुहुन्थ्यो । तर उहाँसँग श्रीमानले विदेशबाट पठाएको पैसाको हिसाबकिताब थिएन । ‘मैले फजुल खर्च गरेको थिइन तर पनि देखाउने प्रमाण मसँग थिएन’ सीतादेवी भन्नुहुन्छ । 

यही कुराले उहाँहरु श्रीमान श्रीमतीबिचको सम्बन्ध बिग्रिँदै गयो । ‘एउटै घरमा बसेर एउटै भान्साको प्रयोग त हुन्थ्यो । तर आठ महिनादेखि उनीहरुको बोलचाल हँुदैनथ्यो अनि कहिले काहि त चूलोमा आगो पनि बल्दैनथ्यो ।’ सीतादेवीका यिनै कुराले उहाँको सम्बन्ध कतिसम्म बिग्रिएको थियो भन्ने छर्लङ्ग पार्छ । श्रीमानको व्यावहार र घरको अभावले उहाँलाई न तनाव थपिँदै गयो ।

‘चिन्ताले गर्दा न निन्द्रा लाग्थ्यो न भोक लाग्थ्यो खाली श्रीमानले भनेका कुरा र उहाँकै व्यवहार मात्रै दिमागमा घुमि रहन्थ्यो ।’ सीतादेवीले भन्नुभयो ।  विदेशबाट फर्किएका श्रीमान सम्बन्ध राम्रो नभएपछि घर छोडेरै हिँड्नुभयो । श्रीमान कहाँ जानुभयो भन्ने सीतादेवीलाई पत्तो थिएन् । उहाँ काम गर्न जान सक्नुहुन्नथ्यो । त्यसैले कमाउने कोही नहुँदा चार जना छोराछोरी सहितको पेट पाल्न नै मुस्किल पर्यो ।

दिदीसँग कुरा गरेपछि आत्म बल बढ्यो उहाँले ५ सय रुपैयाँको सामान किनेर भुजा र आलुचप बनाएर बेच्न थाल्नुभयो । त्यसबाट आउने पैसाले घर खर्च चलाउन थाल्नुभयो अनि बचेको पैसा सहकारीमा जम्मा पनि गर्न थाल्नुभयो । ‘यही प्रयासले त हो नी अहिले यसरी हाँसेर बाँच्न सकेको अनि परामर्श नपाएको भए यो सम्भव पनि त थिएन’ सीतादेवीले भन्नुभयो ।

उहाँले पसल चलाउन थालेपछि श्रीमान पनि घर फर्किनुभयो । त्यतिबेला उहाँले थाहा पाउनुभयो श्रीमान काठमाडौं जानुभएको रहेछ । त्यो पनि फेरि विदेश नै जाने सोचेर । तीन महिनापछि घर आएका श्रीमानको व्यावहार त पहिलाको भन्दा पनि कठोर भयो । घर फर्किएपछि उहाँले भर्खरै जन्मिएको छोर पनि मेरो होइन भनेपछि सीतादेवीलाई तनाव बल्झियो । त्यतिबेला मनोसामाजिक परामर्शकताले सोधेको एउटै प्रश्नले मेरो श्रीमानको सोचाई फेरियो भन्नुहुन्छ सीतादेवी ।

‘उहाँले तपाई घर आउनु भएको समय कति भयो? अनि छोराछोरी जन्मिन कति समय लाग्छ भन्ने? सोधेपछि उहाँलाई हो भन्ने लागेछ कि क्या हो त्यसपछि त उहाँले मलाई सहयोग गर्न थाल्नुभयो’ सीतादेवीले भन्नुभयो । सुरुमा त श्रीमानका कुरा सीतादेवीलाई विश्वास लागेन । तर श्रीमानले सीतादेवीले बचाएर राखेको ५ हजारमा ५ हजार थपेर १० हजार रुपैयाँ लगानी गरेर पसल थालेपछि उहाँका खुशी हुनुभयो । अहिले त पसलमा एक जनाले नभ्याएपछि दुवै जना मिलेर काम गरिरहनुभएको छ ।

दैनिक ३ देखि ४ हजार रुपैयाँको सामान बेच्दा १ हजार रुपैयाँ नाफा हुने सीतादेवीले सुनाउनुभयो । यसले छाक टार्न हुने समस्या मात्रै टरेको छैन सीतादेवीका श्रीमान श्रीमतीबिचको सम्बन्ध पनि राम्रो भएको छ । अहिले उहाँहरु दुवै जनाले आ आफ्नो बचत गरिरहनुभएको छ । सीतादेवीले आफनो मात्रै बचत १० हजार रुपैयाँ पुगेको पनि बताउनुभयो । ‘गतल बुझाईले गर्दा झण्डै मेरो घर टुटेको थियो ।