श्रीमान-श्रीमती मेयर-उपमेयरमा उठ्ने

मेयरको उम्मेदवारमा १२ जना आकांक्षी देखिएका छन्, जसमा युवा संघका परशुराम बस्नेतसमेत छन् । बिराटनगर उपमहानगरपालिकामा मेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेलाई हम्महम्मे परेको छ । रोचक त के छ भने मेयर-उपमेयरमा श्रीमान-श्रीमतीकै नाम नगर कमिटीबाट आएको छ ।

एमाले स्रोतका अनुसार निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मीको नाम पनि मेयरमा सिफारिस भएको छ । उनकी पत्नी सावित्रा रेग्मीको नाम भने उपमेयरमा सिफारिस भएको छ । उम्मेदवारका लागि १२ जनाको नाम नगरसमितिमा आएको छ । एमाले नगर कमिटीका अनुसार व्यक्तिगत प्रभाव र नेताहरुको दबावका कारण १२ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको हो । नगरसमितिले जिल्ला कमिटीमा सबै नाम पठाएको छ । मेयरमा जिल्ला अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, नगर इञ्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्कीका साथै तारा निरौला, खेम नेपाली, नन्दिकेशर भण्डारी र सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलको नाम पनि सिफारिस भएको छ ।

 अनेरास्ववियुका सचिव वसिम आलम र कानून व्यवसायी चूडामणि आचार्यको नाम मेयरमा सिफारिस भएको छ । यस्तै विगतमा गुण्डा नाइके भनेर चिनिएका र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत खेपिसकेका युवा संघका केन्द्रीय सचिव पर्शुराम बस्नेतको नाम पनि मेयरमा सिफारिस भएको छ । नगर कमिटीबाट आएका नाममाथि जिल्ला समितिमा छलफल हुनेछ र प्रदेश कमिटीमा पठाउनेछ ।