कारागारमै कैदीहरुबीच झडप

जिल्ला कारागार दैलेखमा बिहान १० बजे कैदीहरुबीच झडप हुँदा सातजना घाइते भएका छन । झडपमा गम्भीर घाईते भएका नारायण शाही र उपेन्द्र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागि लगिएको छ । अन्य पाँचजना सामान्य घाइते छन् ।

खाना खाने क्रममा पानीको विषयलाई लिएर नारायण शाही र उपेन्द्र पुनबीच झगडा भएको थियो । दुई टोलीबीच झडप हुँदा जिल्ला कारागारको अवस्था तनावमय बनेको छ । घाइते नारायण शाहीको टाउकोमा चोट र नाक भाँच्चिएको हुँदा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । शाहीको अवस्था अरु घाइतेको तुलनामा गम्भीर रहेको प्रहरी निरीक्षक योगेन्द्र खड्काले बताए ।

त्यसक्रममा उनीहरुको समूहबीच पनि कारागारभित्र झगडा भएको प्रहरी निरीक्षक खड्काले जानकारी गराए । ८० पुरुष र २० महिलासहित सय जनाको क्षमता रहेको कारागार दैलेखमा  विभिन्न जिल्लाका कैदीहरु रहेका छन् । कैदीहरु ग्रुप बनाएर बेला बेलामा झगडा गर्दै आएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदी रहेकोले पटक पटक झगडा हुने गरेको  छ । केही महिनाअघि पनि महिला कैदीहरुबीच झगडा भएको थियो ।