अपराधका लागि इन्टरनेटको दुरुपयोग

चैत्र १९, २०७३- अपराधका लागि इन्टरनेटको जति दुरुपयोग भएको छ । अपराधका लागि इन्टरनेटको प्रयोग पछिल्लो वर्षमा नौलो कुरा रहेन । यसको अनुसन्धानका लागि यो उत्तिकै उपयोगीसिद्ध भएको छ । प्रविधिले मानिसको सञ्चार–सम्पर्कलाई जति सहज बनाएको छ, अपराध अनुसन्धान निकायलाई भने त्यति धेरै तनाब बढ्दो छ ।

सन् २०१५ मा अमेरिकाको सान बेर्नार्डिनोमा भएको एक आक्रमणमा १४ मानिस मारिए भने २२ जना गम्भीर घाइते भए । लगत्तै, प्रहरीले  ती  आक्रमणकारीलाई गोली हानी हत्या गर्‍यो र उसको साथबाट एक थान आईफोन सी बरामद गर्‍यो ।  ती आक्रमणकारीबारे व्यक्तिगत विवरण थाहा पाएर पनि अमेरिकी अनुसन्धान निकाय एफबीआईले उनले आक्रमण किन गरे र कसैको योजनामा पो गरेका हुन् कि भन्ने मेसो पाउन सकेन । यसका लागि उसको साथमा भेटिएको आईफोनबाट धेरै जानकारी पाउन सकिने अनुसन्धानमा अधिकारीको निष्कर्ष थियो । तर, यो जानकारी लिनु उनीहरूले भनेजस्तो सजिलो थिएन । फोन पासवर्ड लक थियो र यसलाई खोल्ने कुनै उपाय उनीहरूसँग थिएन ।

यसका लागि उनीहरूले आईफोन निर्माता एप्पलसँग गुहार मागे । यो फोन खोल्न यसको सफ्टवेयरमा केही हेरफेर गर्दिन एफबीआईले अनुरोध गरेको थियो । तर एप्पलले सहयोग गर्नुको साटो एफबीआईको यस्तो अनुरोध सार्वजनिक गरिदियो र आफूले प्रयोगकर्ताको फोन खोल्न कसैलाई सहयोग नगर्ने अडान लिइदियो । अमेरिका र सारा विश्वलाई दुई ध्रुवमा विभाजित गरेको यो घटना एप्पल र एफबीआईको लडाइँको रूपमा चिनिन्छ । यो घटनाले प्रयोगकर्ताको डाटा सुरक्षाको हिसाबमा राम्रो नजिर बसाएको छ भने अपराध अनुसन्धानमा सहयोग नगरेको भनेर अमेरिकासहित धेरै देशका अनुसन्धान निकायको भने ध्यान केन्द्रित गरेका छन् ।

घटनामा अमेरिकी टेक्नोलजी कम्पनी एकातिर र अमेरिकी अनुसन्धान निकाय अर्कोतिर बसेर धेरै समय आआफ्नो तर्क पेस गरिरहे । एक पटक प्रयोगकर्ताको मोबाइल खोल्न सहयोग गरे यसले नराम्रो नजिर बस्ने र प्रयोगकर्ताको गोपनीयताको रक्षा नहुने तर्क गर्ने एप्पलको भनाइसँग धेरैले सहमति जनाए पनि यसमा आतंककारीको मोबाइल खोल्न असहयोग गरेको भनेर कम्पनीको आलोचना गर्नेको कमी भएन ।

सन् २०१६ मा यो घटनाले चर्को रूप लिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हिलारी क्लिन्टनको विपक्षमा चुनावी अभियान चलाइरहेका थिए । उनले सार्वजनिक रूपमै एप्पलको यो अडानको विरोध गर्दै आईफोन नचलाउन आफ्ना समर्थकलाई आग्रह गरे ।
यो उथलपुथलभन्दा अघिदेखि नै अमेरिकी नेसनल सेक्युरिटी एजेन्सीका कर्मचारी एडवार्ड स्नोडेनले गरेको खुलासाले पनि चर्चा पाइरहेकै थियो । उनले अमेरिकी अनुसन्धान निकायले मानिसको इमेल, ‘म्यासेज’ र फोन कुराकानी नेटवर्क हयाक गरेर सुन्ने र संकलन गर्ने गरेको खुलासा गरेका थिए । उनको खुलासामा बेलायतले पनि यसो गर्दै आएको उल्लेख थियो ।