डिप बोरिङ गर्ने क्रममा वडा कार्यालय नजिक आगलागी

वैशाख ५, भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक खानेपानीको 'डिप बोरिङ' गर्ने क्रममा निस्किएको ग्यासका कारण  आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार-१ को पिलागाउँ नजिक आगलागी भएको हो ।

आगलागीका कारण डिप बोरिङमा प्रयोग गरिएका मेसिनका तार लगायत सामग्री जलेका छन् । बिहान १० बजेपछि लागेको आगो अहिलेसम्म निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि काठमाडौं र भक्तपुरका गरी तीनवटा दमकल प्रयोग गरिएको छ । आगोको मुस्लो बढ्दै गएपछि नजिकका मानव बस्तीमा त्रास उत्पन्न गराएको प्रहरीले बताएको छ । सुरक्षाकर्मी, स्थानीय बासिन्दाले आगलागी निभाउने प्रयास जारी राखेका छन् ।

 डिप बोरिङ भन्नाले सय फिटभन्दा बढी गहिराइबाट पानी निकालेर प्रयोग गर्नु हो ।  चापाखर्क खानेपानी आयोजनाअन्तर्गतको डिप बोरिङको काम आगलागीपछि रोकिएको छ । करिब १ सय ८० फिट गहिरो खनिएपछि ग्यास निस्किएर आगलागी भएको हो । तर, कसरी आगलागी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।