आहालकै पानी पिउँन बाध्य

वैशाख ३, त्रिवेणी नलगाड नगरपालिका १,बस्तीमा आसपास खानेपानीको स्रोत नहुँदा जुरेलीगाउँका १ सय ५० दलित तथा जनजाति घरपरिवार पिउने पानीका लागि आधा घण्टाको दूरीमा रहेको पोखरीमा जम्मा भएको आकाशे पानीको भर पर्न बाध्य छन् ।

त्रिवेणी नलगाडकी जुरेलीकी दूधकली घर्ती पिउने पानीको जोहो गर्नमै बिहान बिताउँछिन् । उनीमात्रै होइन, रामकली पुन, टिकुली राना, सम्झना विक, निरुता विकलगायतलाई पनि उस्तै समस्या छ । जुरेलीका बासिन्दा र उनीहरूले पालेका चौपायाले पिउने एउटै पोखरीको पानी पिउँछन् । ‘घरमा अन्य समस्याभन्दा पनि पानी कहाँबाट ल्याउने भन्ने चिन्ताले बढी सताउँछ,’ दूधकलीले भनिन्, ‘परिवारका एक सदस्यको काम नै पानी ओसार्नु र छान्नु मात्र हुन्छ ।’ २ हजार मिटरको उचाइमा रहेको जुरेली गाउँमा पिउने पानीको अभाव छ ।

‘३ घण्टा नजिकको दूरीमा पानीका स्रोत छैनन्,’ स्थानीय वीरबहादुर परियारले भने, ‘गाउँभरका पशु चौपायाले खाने र मान्छेले खाने पानी एउटै खाली (पोखरी) को हो । १५ मिटर लम्बाइ, १० मिटर चौडाइ र २ मिटर गहिरो पोखरीमा वर्षाको सिजनभरि जम्मा भएको पानी नै हाम्रा लागि प्रमुख स्रोत हो ।’ त्यही खाली (आहाल) गन्ध आउने दूषित पानी नपिई नहुने अवस्था भएको उनले बताए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनका उम्मेदवारलाई पानीको समस्या समाधानको माग गरे पनि कसैले समाधान नगरेको उनले बताए । ‘निर्वाचन ताका पानीको योजना ल्याइदिन्छौं भन्छन् । तर जितेर गएपछि बिर्सन्छन्,’ उनले भने ।

गाउँदेखि २ घण्टा टाढा रहेको जुगेनी मूल पनि ४५ वर्षयता सुकेर गएपछि दूषित पानी पिउनुको विकल्प नभएको परियारले बताए । ‘नजिकै रहेको जनता प्राथमिक विद्यालयका बालबालिका पनि उक्त खालीकै पानी पिउँछन्,’ उनले भने । स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगको प्रकोपबाट पीडित हुने गरेको उनले बताए । पिउन, सरसफाइ गर्न र चौपायाका लागि एउटै स्रोत हुँदा समस्या भएको उनको भनाइ छ । पानी व्यवस्था हुन नसके बस्ती नै सार्नुपर्ने बाध्यता आउने उनले बताए । सम्बन्धित निकायसँग खानेपानीको योजना माग गर्दा पनि सुनुवाइ नभएको परियारले बताए ।