१०३ वर्षपछि घरको बास

बर्दिबासः ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ', दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भन्नुभयो, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।'

नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उहाँले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन । धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो । मुहारको त्यो चमकले उहाँको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो ।

पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन् । उहाँ नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो । पक्की घरमा बसेर उहाँले घरको भुइँ, छानो र भित्ता नियाल्नु भयो र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो ।

रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उहाँले भन्नुभयो, ‘मैले जे दुःख भोगें भोगें । अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन । मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन् ।' २०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस—सुन्तलीले मरनीलाई देख्नुभएको थियो ।