पहिरोमै जन्मिएर , टेन्टमा हुर्किंए

गत १२ साउनमा झमझम पानी परिरहेको थियो । जताततै पहिरो जान सुरु भयो । फोप्ली रामबारीकी झमी विकको घर पनि पहिरोका कारण चर्किन थाल्यो । दुई जिउकी विक घर छाडेर भागिन् ।  त्यसको केही मिनेटमै घर गल्र्यामगुर्लुम ढल्यो । त्यो रात त्यसै बित्यो । भोलिपल्टदेखि उनी टेन्टमा बस्न थालिन् । श्रीमान् वैदेशिक रोजगारीमा थिए । यता, पहिरोले घर बगाएपछि खाने अन्न  पनि थिएन ।

चार दिनपछि उनी सुत्केरी भइन् । अहिले पनि उनी त्यही टेन्टमा छिन् । सात महिने छोरालाई टेन्टमै हुर्काइरहेकी छिन् । सरकारले घर बनाइदिने आशा देखाए पनि पूरा नगरेको झमीको गुनासो छ । पहिरोपीडितहरू कोही छाप्रो, केही आफन्त र कोही टेन्टको शरणमा छन् । हिउँदमा चिसोले कठ्यांग्रिनुपर्ने र गर्मीमा लामखुट्टेले सताउने उनीहरूको गुनासो छ ।