आर्थिक अभावका कारण फोहोर पानी पिउदैँ

सर्लाहीको अत्रौली ७ नयाँ बस्तीका बासिन्दा जीवनयापन गर्न खोलाको फोहोर पानी खान बाध्य छन् । चट्टाने जमिनमा रहेको बस्तीमा खानेपानीका लागि कल गाड्न र इनार खन्न नसक्दा उनीहरूले बर्सौंदेखि अत्रौली खोलाको फोहोर पानी खाँदै आएका हुन् ।

दैनिक गुजारा चलाउन स्थानीयले खोला किनारमा सानो कुवा खनेका छन् । आर्थिक अभावले उनीहरूले दुई किलोमिटर पर तुरतुरेमा रहेको मुहानबाट पनि पाइप बिछ्याएर बस्तीमा पानी ल्याउन सकेका छैनन् । तुरतुरेबाट पानी ल्याउन दुई हजार ६ सय मिटर पाइप आवश्यक पर्छ । कुवा खुला रहेकाले फोहोर छ । कुवाबाट अहिले ७५ घरधुरीले दैनिक गुजारा चलाउँदै आएका छन् । त्यही फोहोर पानी लिन पनि बिहानबेलुका लाइन लाग्नुपर्ने बाध्यता छ ।

कुवाको फोहोर पानी नै खाना पकाउने, नुहाउने, कपडा धुनेजस्ता काम गर्दै आएको स्थानीय भीमबहादुर लामाले बताउनुभयो । खानेपानीको समस्या सबभन्दा बढी बर्खा र गर्मीमा हुन्छ ।  'खोलामा बाढी आएपछि कुवा पुरिन्छ', लामाले भन्नुभयो, 'गर्मीमा कुवा सुक्छ ।'  वर्षात र गर्मीमा बस्तीबाट टाढा रहेको इनारबाट पानी ओसार्नुपर्छ । इनारबाट पानी ल्याउन ४५ मिनेटभन्दा बढी लाग्ने उहाँको भनाइ छ । 'इनारको पानी पनि सय मिटर गहिरोमा छ । इनारबाट पानी तान्न निकै कठिन हुन्छ', उहाँले भन्नुभयो ।