खानकै लागि बालुवा बोक्छन दुई दाजुभाइ

गोरखा (छत्तिवनगैरा), गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको छतिवनगैरा गाउँको माझैतिर पर्ने सानो झुप्रो घर छ । त्यहि झुप्रोमा बस्न्ने गर्छन २ दाजुभाइ रहेछन्, दाइ १० वर्षका कुमार चेपाङ र भाइ ५ वर्षका विशाल ।

शरीरको आकारभन्दा ठूला एकसरो लुगा लगाएका दाजुभाइकै लुगा त मैला थिएन नै हात र खुट्टामा फोहर जमेका थिए र कतै कतै फुटेका पनि थिए । भिरालो जमिनको अलि सम्म परेको बारीको पाटोको भित्तोमा बनाइएको घरको मूल ढोकामा ताला झुण्डिएको थियो । ‘यो घर कसको हो?’ दुबैले एकै स्वरमा भने, ‘डण्डु चेपाङको ।’ डण्डु चेपाङ अर्थात उनीहरुका बा जंगलमा सिस्नु खोज्न गएका रहेछन् । अनि आमा नि? उनीहरुले भने, ‘आमा जोगिमारामा पोइल गइन् ।’ छिमेकीका अनुसार जेठो छोरो कुमार ६ र कान्छो विशाल १ वर्षको हुँदा आमा पृथ्वी राजमार्ग नजिकै जोगिमारामा अर्को बिहे गरेर गएकी हुन् ।

गरिबीसँग जुध्दै गरेको सिंगो चेपाङ बस्तीका छरछिमेकले कुमार र विशाललाई कत्ति दिन सित्तै खुवाउन्? दाजुभाइ नै सकेको काममा छिमेकीलाई सघाउँदा रहेछन् र बदलामा भात खाँदा रहेछन् । पैसा पनि दिन्छन् कि ? कुमार भन्छन्, ‘भात खान पाएपछि किन पैसा चाहियो र?’ यत्तिसम्मकि कुमारका विशाल पनि वालुवा बोक्दा रहेछन् । सिंगो छत्तिवनगैरा गाउँमा पानीको दुःख छ, त्यसैले बालुवा बोक्ने काम नपाएका बेला भने उनीहरु छिमेकीको घरमा पानी बोकेर ल्याइदिन्छन् र भातको जोहो गर्छन् ।

केही पनि काम नपाएको र बुवाले पनि ज्यालामजदुरी गर्न नसकेको बेला भने उनीहरु भात खाने बेला पारेर तिनै छिमेकीको घरमा जान्छन्, यसो खेलेजस्तो गरेर समय कटाउँछन्, छिमेकीले दयाले बोलाएर दिए भने छाक टार्छन्, नभए भोकै । घर नजिकै प्रजावस्ती प्राथमिक विद्यालय छ, तर दाजुभाइ नै स्कुल जाँदैनन् । ‘कहिले काहीँ जाने गरेको छ’ कुमार भन्छन्, ‘धेरैजसो त काम गर्नुपर्छ ।’ जम्मा ५ र १० वर्षका यि दाजुभाइलाई गाउँकै दुःखीका रुपमा बुझ्छन्, उनीहरुको घर भन्दा पल्लो डाँडामा घर भएका शिक्षक अनुप चेपाङ । ‘बुवा पनि रोगी रोगी छन्, आमा पोइन गइन्’ अनुप भन्नुहुन्छ, ‘लाउँ लाउँ र खाउँखाउँको उमेरमा पेट पाल्नका लागि अनेक काम गर्नु परेको छ ।’

भरथेग गरेर कम्तिमा स्कुल जाने अवस्था बनाईदिन पाए हुन्थ्यो भन्ने अनुपजस्ता छिमेकीहरुलाई पनि लाग्छ, तर सबैको गरीविको कथा र ब्यथा आ–आफ्नै छन् । ‘आफ्ना छोराछोरीको त हेरविचार गर्न सकेका छैनन्, अरुको के गर्न सक्थे’ अनुप भन्नुहुन्छ । कुमार र विशाल दुबैलाई चाउचाउ मन पर्छ । ज्यालामजदुरीकै क्रममा कहिलेकाहीँ गाऊँ आइपुगेका बेला आमाले भेट्ने गरेको कुरा कुमारले सुनाए । तर छिनमै मलिन अनुहार बनाएर उनी भन्छन्, ‘भेट्न आएर के गर्नु, एकछिनमै गैहाल्छ ।’ त्यसबिहान जंगलमा सिस्नो टिप्न गएका भनिएका उनीहरुका बा डण्डु चेपाङ बिहान अबेरसम्म पनि फर्केनन् ।