यदि पैसाकै लागि विदेश जाने हो भने त्यहाँ गर्ने दुःख यही गर्दा त्यसको दोब्बर कमाउन सकिन्छ

नेपालमा गरे के हुदैन । हाम्रा युवाहरु धनको लागी परदेश भासीने सङ्ख्या बढ्दो छ । रहर, बाध्यता तथा लहैलहैमा परदेश पलायन हुने गरेका छन् । उनीहरु अरुको भनेको भरमा जाने गरेका छन् । सबैले परदेशमा कमाएको देख्ने तर परदेशको वास्तविक दुःख नदेख्ने हुँदा पलायन हुनेको संख्या बढेको हो । नेपालमा बेरोगार भइयो, सरकारले केही गरेन भनेर परदेश जानेको उदाहरण बनेका छन् हमरजुङ–७ का ४७ वर्षका अमरकृष्ण बस्नेत । ६ वर्ष मलेसिया बस्दा निकै दुःख पाएका थिए उनले । घर जग्गा धितो राख्दै होस् या तीन टक्के व्याजमा ऋण काढेर होस्, धन कमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि सँगसँगै भोग्नुभयो उहाँले । ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाई गर्न सकिने रहेछ, भनेका छन् उनले ।

उ मलेसिया बाट नेपाल फर्किए पछि फेरी विदेश नजाने निर्णयका गाउँमा नै किसानले उचित मुल्य नपाएर खेर गईरहेको दुधलाई सदुपयोग गदै दुधको परिकार बनाउने उद्योग सञ्चालन गरे । सुरुमा चार जना मिलेर सञ्चालन गरेको उद्योग पछि उनले एकलौटी बनाएका छन्  ।

उनी भन्छन् “विदेशबाट फर्कदा हातमा थोरै पैसा थियो, तर त्यो भन्दा धेरै दिमागमा चेत खुल्यो कि विदेशमा जति दुःख नेपालमा नै गरे जति पनि हुन्छ ।” मलेसिया पुग्दा भोगेका दुःख सम्झँदै बस्नेतले थपे ‘विदेश के का लागि जाने रु यदि पैसाकै लागि हो भने त्यहाँ गर्ने दुःख यही गर्दा त्यसको दोब्बर कमाउन सकिन्छ ।’ उहाँले गाउँका केही राहदानी बनाइसकेका युवालाई समेत स्वदेशमै केही गर्नुपर्छ भनेर सम्झाएर कृषि पेशामा आवद्ध गराएको  सुनाए  ।

बस्नेतको दुग्ध परिकार उद्योगबाट अहिले छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक झण्डै ७ क्विन्टल छुर्पी, ४ सय केजी बढी नौनी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । पनिर भने अर्डर बमोजिम मात्रै बनाइन्छ । उत्पादित छुर्पी र नौनीकालागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ ।

उहाँले उत्पादन गरेको छुर्पी इटहरी हुँदै काठमाडौं भएर अमेरिकातर्फ निर्यात हुन्छ भने नौनी ऊर्लाबारी, विराटनगर, धरान लगायत शहरहरुमा खपत हुन्छ । तर बिक्री गर्न कहीँ जान पर्दैन उहाँलाई । ‘उत्पादित सामाग्री घरैबाट खपत हुन्छ, मूल्य पनि सन्तोषजनक नै छ ।’ उहाँले भन्नुभयो । हाल बस्नेतले छुर्पी घरैबाट ८ सय ५० रुपैयाँ केजी र नौनी प्रति केजी साढे पाँच सय रुपैयाँमा बिक्री गरीरहेका छन्  ।

बस्नेतको उद्योगबाट मासिक सरदर ७ लाख रुपैयाँ कमाई हुन्छ । त्यसबाट सबै खर्च कटाएर ६० हजारदेखि १ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताए । उहाँले किसानबाट सिधै र नजिकको छथर दुग्ध चिस्यान केन्द्रबाट दुध खरिद गरीरहेका छन् । उनले प्रति लिटर ४५ रुपैयाँले दुध खरिद  गर्दछन् ।
उनले दैनिक ६ सय लिटरसम्म दुध खपत गर्दछन् ।

उद्योगमा बस्नेतको झण्डै ७ लाख रुपैयाँ लगानी छ ।  बस्नेतको उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्ने लगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ । कामदारलाई खाना, खाजा र बाससहित १५ हजार रुपैयाँसम्म तलब सुविधा दिएको बस्नेतले बताए ।