मलेसिया जान जग्गा बन्धकी

सप्तरी, चैत १८ – हुर्किएको छोराको जागिर थिएन । गाउँघरमा रोजगारी गर्ने अवसर पनि कम थियो । त्यसैले जितन र दुखनी देवी मण्डल दम्पत्तिले छोरालाई विदेश पठाउने सोच बनाए । र आफूसित भएको तीन कठ्ठा जमिन साहुकोमा बन्धकी राखे ।

मण्डल दम्पत्तिका लागि सम्पती भन्नु नै तीन कठ्ठा जमिन । गरिखाने भने पनि ऋणपान गर्न धरौटी राख्ने भने पनि त्यै जमिन ।
छोरालाई विदेश पठाउन जितन र दुखनी देवीले स्थानीय बिरिजा यादवकहाँ आफूसित भएको तीन कठ्टा जमिन बन्धकी राखे । सयकडा तीनका दरले एकलाख ५५ हजार रुपैयाँ ऋण लिएर छोरा मनोजलाई विदेश पठाए ।  सप्तरीको मलेकपुर गाविस ४ का मनोज कुमार मण्डल २०७१ कात्तिक २३ गतेका दिन रोजगारीका लागि मलेसिया पुग्नुभयो ।

काठमाडौंको युनाइटेड इन्टरनेशनल म्यापावरबाट एजेन्ट राम विलास मण्डलले मनोजलाई मलेसिया पठाएका थिए । तर स्वास्थ्य परीक्षणमा ‘अनफिट’ भएपछि मलेसिया पुगेको २२ दिनमा मनोजलाई नेपाल फर्काइयो । झण्डै अढाई वर्ष अघि नेपाल फर्केका मनोजलाई अहिले भेट्दा पनि सञ्चो भइसकेको जस्तो लाग्दैन् । एक्लै बर्बराइ रहने, बेहोसी झैं बोल्ने, बोलेका कुरा नबुझिने र गाउँघरमा बेला बेला उपद्रो गर्ने मनोजको बास पनि घरमा छैन । पूजा गर्नका लागि घरभन्दा अलि पर्तिर बनाइएको सानो मन्दिरमा मनोजका दिन रात बित्न थालेको झण्डै दुई वर्ष बिति सके ।

उहाँका बाआमाको भनाईमा मनोजले कपडा नफेरेको र ननुहाएको दुई महिना भन्दा धेरै समय भइसक्यो । नेपाल फर्कने बित्तिकै मनोजलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर दुई महिना उपचार गरिएको थियो । उपचार गर्ने खर्च नहुँदा मनोजलाई अहिले घरमा नै राखिएको छ ।

कमाउन गएको छोरो बिरामी परेर फर्किए पछि मण्डल दम्पत्तिले बन्धकी राखेको जग्गा गुमाउने अवस्थामा पुगेका छन् । पाकेको ब्याज साउँमा गाभ्दै जाँदा ऋण बढिरहेको छ । गएको कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडित परिवार र एजेन्टबिच छलफल गरेर झण्डै डेढलाख रुपैयाँ जग्गा बन्धकी राखेर ऋण दिने बिरिजा यादवलाई तिरोभरो पनि गरियो ।

तर ७० हजार रुपैयाँ अझै तिर्न सकिएको छैन । त्यति पैसा तिर्न नसक्दा जग्गा अझै पनि साहुको स्वामित्वमा रहेको छ । बिरामी छोराको उपचार गर्न नसकेका मण्डल दम्पत्तिसित जग्गा उकास्ने अरु कुनै उपाय पनि छैन ।