मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्ध

श्रावण १, २०७२- नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य हो । यहाँ सिकारी चरामात्रै ७८ प्रजातिका छन् । नेपालमा ८ सय ७२ प्रजातिका चरा पाइन्छन् । सिकारी चराहरुले सिकार गरेरै नै जीविकोपार्जन गर्छन् । तर यिनले गर्ने सिकार उनीहरूका लागि जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी समाजका लागि छ ।  विज्ञहरूका अनुसार यिनीहरूले गर्ने सिकारले खाद्यशृंखला र पर्यावरणीय चक्र सन्तुलित र गतिशील राख्न मद्दत गर्दछन् ।

नेपालमा पाइने विश्वका दुर्भल ३५ चरामध्ये सिकारी चरा नै १० प्रजातिका छन् । लाटोकोसेरो टाइटोनिडी र स्ट्रागिडी, चील र गिद्ध एक्सिपिट्रडी तथा बाजहरू फाल्कोनिडी परिवारका सिकारी चरा हुन् । यिनीहरूका पनि विभिन्न प्रजाति छन् । तिखा र बलिया घुम्रिएका नङ्ग्रा भएका यिनीहरूले खुट्टाले सिकार समात्छन् । अनि अंकुशजस्तै चुच्चो भएको मुखले खान्छन् ।

यिनीहरूको बन्दुक भनेकै बलिया खुट्टा हुन्।  यस प्रजातिमा २९ सेमिको बेसरा बाजदेखि १ सय २५ सेमि लामो हिमाली गिद्धसम्म पर्छन् । चील, बाज, लाटोकोसेरो र हुचिल आफैं सिकार गरेर खान्छन् । गिद्ध आफैं सिकार गर्दैन, जनावरको सिनो खान्छ । लाटोकोसेरो, बाज र चीलले भ्यागुतो, चमेरो, मुसा र हानिकारक कीराफट्याङग्रालाई आहार बनाउँछन् । सर्पहारी चील र काकाकुलले सर्प खाएर तिनको नियन्त्रणमा सहयोग गरिरहेका हुन्छन् । बालीनाली नाशकलाई खाने यी पक्षी किसानको उपयोगी साथी भएको चराविद् हेमसागर बरालको भनाइ छ।

एउटा लाटोकोसेरोको प्रजातिले फुल पारेर बच्चा हुर्काउने बेलासम्म करिब ३ हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने विश्व लाटोकोसेरो कोषका स्वयंसेवी नेपाल प्रतिनिधि राजु आचार्यले बताए । तराईदेखि हिमालसम्मै पाइने लाटोकोसेरो आवाज ननिकालीे उडने हुँदा रातमा सजिलै सिकार गर्छ । गिद्धले सिनो खाएर वातावरणलाई प्रदूषित हुनबाट जोगाउने भएकाले यसलाई प्रकृतिको कुचीकारका रूपमा चिनिने संरक्षणकर्मी खडानन्द पौडेल बताउँछन् ।

मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्ध सिनो खोज्न ३ सय किमिसम्म टाढा पुग्छन् । एउटा गिद्धले एक वर्षमा एक सय २० किलो मासु खान्छन् । सिकारी चरा धार्मिक र सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण मानिने स्थल जीवविज्ञ कृष्ण भुसाल बताउँछन् ।  हिन्दु धर्ममा गिद्धलाई शनि देवताका रूपमा पुजिन्छ ।

लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पुजिन्छ । संसारका धेरै सभ्यतामा यसलाई अज्ञानता चिर्ने प्रतीकका रूपमा लिइन्छ । इसाई धर्ममा पनि यसलाई यशुको ज्ञानको प्रतिनिधि पात्रका रूपमा हेरिन्छ । जापानका घरमा अनिकाल र महामारीजस्ता प्राकृतिक विपत्तिलाई टाढा भगाउन लाटोकोसेराका तस्बिर राख्ने चलन छ ।

नेपालका हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामाले शव गिद्धलाई खुवाउँछन । जसको शव गिद्धले राम्ररी खान्छ ऊ धर्मात्मी र स्वर्गमा जान्छ भन्ने धार्मिक जनविश्वास छ । मुम्बईका पारसी समुदायकाले पनि मृतकका शव साइलेन्स टावरमा राखेर गिद्धलाई खुवाउँछन् ।