खाडीमा काम गर्ने हरुको मृर्गौलामा समस्या बढि, कि हुन्छ त यस्तो समस्या

डा. बिष्णु पहारी । केही वर्ष यता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका विकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौति पूर्ण रुपमा बढेको छ ।

मिर्गौला रोगको शिघ्र पहिचान तथा र त्यसको समय मै निदान नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गर्नुपर्छ । मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महंगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मिर्गौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु अनिवार्य छ ।

संचारमाध्यमहरुको सक्रियता र विभिन्न सचेतना कार्यक्रमहरुका कारण बढ्दो जनचेतना स्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

पछिल्ला दिनहरुमा मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा गएर फर्किएका नेपालीहरुको संख्यापनि ठूलो छ ।

खाडीका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने र त्यस अनुसार पर्याप्त पानी नपिएका कारण धेरै नेपालीहरुको मिर्गौला फेल हुने गरेको छ । त्यसमाथि खाडीका देशहरुमा हरियो सागसब्जी भन्दा माछा मासु तुलनात्मक रुपमा सस्तो हुनेभएकाले नेपालीहरुले खानामा अत्यधिक माछामासु प्रयोग गर्ने गरेकाले पनि मिर्गौलामा समस्या देखिने गरेको पाइएको छ ।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को विकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मिर्गौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

संसारभर १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी समस्याबाट पीडित छन् । यस तथ्याङ्कलाईको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखी १३ प्रतिशत करिब २७ लाख मानिसमा मिर्गौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।